काठमाडौं । जनमतले कमजोर भए पनि सत्ताको साँचो कांग्रेसको हातमा आइपुगेको छ । दलभित्रको किचलो, सत्ता अहंकार र भागवण्डाको रडाको झेल्नु नपरोस् भन्ने आम जनताको यतिबेलाको चाहना हो । भागवण्डा र गुटबन्दी नेपाली कांग्रेसको पुरानो रोग हो । यो रोग पार्टीमा क्यान्सरजस्तै बनेको छ ।
नेपाली कांग्रेसले सरकार सञ्चालनको यो दर्लभ अवसरलाई सदुपयोग गर्दा सबैलाई फाइदा पुग्छ । यो दर्लभ अवसरमा पनि पार्टी नेताहरु गुट बनाएर भागवण्डा खोजिरहेको देख्दा धेरैलाई निराश बनाएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको बैठकले एक उपप्रधानमन्त्रीसहित चार मन्त्रालय पाउनुपर्ने माग ग¥यो । पार्टीमा तेस्रो धार दाबी गर्ने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि एक मन्त्रीमा भाग खोजिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र नै सत्ता साझेदारलाई भाग दिएजस्तै गरी भागवण्डा गरी समीकरण मिलाउँदैछन् । यो मुलुककै लागि दुर्भाग्य हो ।
पार्टीभित्रकै नेताहरुले वर्तमान प्रधानमन्त्रीको परिस्थिति नबुझ्दा सरकार सञ्चालनमा मात्र होइन, कांग्रेसको महाधिवेशन नै प्रभावित हुने देखिएको छ । संस्थापनइतर समूहभित्र पनि धेरै अंशियार भएकाले वरिष्ठ नेता पौडेललाई सन्तुलन मिलाउनसमेत कठिन छ । महाधिवेशनको मुखमा सबैलाई चित्त बुझाउनुपर्ने बाध्यता यी दुवै नेतालाई छ । यो बाध्यताले कांग्रेसलाई कहाँ पु-याउँछ अहिले नै भन्न सकिने अवस्था छैन ।
विधि पद्धतिलाई नखलबलाई संसदको पूरै अवधि सरकार सञ्चालन गर्नुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा छ । गुटैपछि टाउको गनेर भाग माग्नेभन्दा पार्टीमा सबैलाई न्याय हुने गरी कांग्रेसले सरकार सञ्चालन गर्नु हितकर हुनेछ । यसले नै पार्टीको भविष्यलाई उज्यालो बनाउने विश्लेषण गरिएको छ ।




