नेपाली कांग्रेसको चौधौं महाधिवेशन ‘असजिलोमा फलेको फर्सी’ जस्तो भएको छ । टिप्न पनि नसकिने, आफै झर्दा काम नलाग्ने । लोकतान्त्रिक पार्टीको महाधिवेशन समयमा नै सम्पन्न गर्न नसक्दा मुलुकको जटिलता सँगै महाधिवशनको जटिलतासमेत थपिएको छ । मौजुदा संविधानबमोजिम आगामी भाद्रभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । समय र परिस्थिति महाधिवेशनका लागि अनुकूल छैन । महामारी, बाढीपहिरो तथा सक्रिय सदस्यको विवाद र नेतृत्वका आकांक्षीहरुको आ–आफ्नै स्वार्थका कारण निश्चित भएर महाधिवेशन हुन्छ भन्ने सकिने स्थिति छैन । घोषित कार्यतालिका पटक पटक परिवर्तन भएकाले पनि पुनः कुनै उपाय खोजेर मिति सार्न र महाधिवेशन टार्न खोजिन्छ भन्ने आंशकाबाट पार्टीका नेता तथा कार्यकर्ता मुक्त छैनन् ।
आफ्नो नेतृत्वप्रति विश्वस्त हुने आधारहरु कमजोर भएको ‘विश्लेषण’ धेरै चियापसलहरुमा सुनिन्छ । पार्टीको आधिकारिक तहमा छलफल नहुने भएर होला, विभिन्न गुट र गिरोहका फरक फरक झुन्डमा अलग अलग छलफल र रणनीति तय हुने गरेको सुनिन्छ । राजनीतिलाई व्यवसाय बनाएर जिविकोपार्जन गर्दै आएका विकल्पविहीनहरु अनेक वहाना बनाएर ठग्न र लुट्न क्रियाशील देखिन्छन् । सरकारमा हुँदा वा नहुँदा अवैद्य किसिमले राज्यको श्रोत र साधनमाथि हमला गरी आफ्नो आर्थिक हैसियत बलियो बनाएका लुटेराहरु तलदेखि माथिसम्म पार्टी कब्जा गर्न क्रियाशील भइसकेका छन् । उनीहरुलाई श्रोत र साधनको वैधानिकता सोध्न कोही सक्दैनन् । कहाँबाट साधन र श्रोत ल्याएर यस्तो सुविधाभोगी जीवनशैली चलाउनु भएको हो ? यसको श्रोत खुलाउनुस् भन्ने हैसियत न पार्टीका कार्यकर्ता राख्छन् न त राज्यको वैधानिक निकायले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउँन सक्छ । यस्तो अराजकता र उदासिनताको फाइदा उठाएर राज्य दोहन गर्नेहरु नै राजनीतिक क्षेत्रमा अग्रस्थानमा देखिन्छन् ।
पार्टीभित्र परिवर्तन र रुपान्तरणको नारा दिएर सस्तो लोकप्रियता हासिल गर्नेहरु ठग र लुटेराहरुलाई नै संरक्षण गरिरहेका मात्र छैनन् उनीहरुकै सहयोगमा नेतृत्वमा स्थापित हुने सपना देखिरहेका छन् । त्यत्ति मात्र होइन, पार्टीको तल्लो संरचनादेखि माथिल्लो तहसम्म त्यस्तै पृष्ठभूमिका व्यक्तिहरुलाई स्थापित गर्न लागिपरेका छन् । पार्टीको विचार, सिद्धान्त र कार्यक्रमलाई धेरथोर बोकेर हिड्ने कार्यकर्ता नेतृत्वका आकांक्षीहरुको लागि स्वीकार्य छैनन् । आलोचनात्मक चेत भएको राय बझाउन खोज्ने व्यक्तिलाई चुनौतिको रुपमा हेरिने गरिन्छ । आफ्नो इसारामा चल्ने, अन्य योग्यता र क्षमता नभएको, सबै विकल्पहरु समाप्त भएको व्यक्तिलाई छनोट गरी आफ्नो दास बनाउने मनोवृत्तिबाट पार्टीको नेतृत्व गर्ने चाहना राखिन्छ । इमान्दार र निष्ठावान मानिस स्वीकार्य नै छैन । त्यसमा अवैद्य किसिमले पैसा बनाइ सहयोग र समर्थन जुटाउन सक्ने व्यक्ति छनोटको प्राथमिकतामा परेको देखिन्छ ।
नेतृत्वका आकांक्षीहरु कसैले पनि सुधारको प्रयास गरेको देखिँदैन । यथास्थिति र अवस्थामा नेतृत्वमा पुग्ने इच्छा मात्र राखेको देखिन्छ । कस्तो पार्टी बनाउने, नेतृत्वको आचरण र चरित्र कस्तो हुनुपर्ने, तल्लो तहदेखि कस्ता मानिस ल्याउनुपर्ने ? भन्ने छलफल र प्रशिक्षण नै छैन । जे जसरी भए पनि आउनु प¥यो, पार्टी कब्जा हुनुप¥यो, आफ्नो स्थान सुरक्षित हुनुप¥यो र स्वार्थ पूरा गर्न सक्नुप¥यो । यति मात्र सोच र चिन्तन देखिन्छ । उसले गरेको योगदान, उसको योग्यता र क्षमता, पृष्ठभूमिप्रति कसैलाई सरोकार छैन । हरेक क्षेत्रमा असफल भएको व्यक्ति राजनीतिमा सफल हुने परिस्थिति बनाउन लागिपरेको नेतृत्वबाट के अपेक्षा राख्ने ? सफल उसको अयोग्यतामा देख्न थालिएको छ । योग्य मानिस सफल नहुने, अयोग्य मानिस सफल हुने व्यवसाय र पेसा राजनीति बन्दैछ । त्यस्तै परिवेश बनाएर आफू नेतृत्वमा पुग्ने चाहना राख्नेहरुबाट परिवर्तन र रुपान्तरण सम्भव होला ?
समय प्रतिकूल छ, तर संवाद चलाउन सकिन्छ । संवाद चलाउन सकिन्छ । संवाद चलाउन कोही तयार छैन । आफ्नो बिग्रिन्छ कि भन्ने चिनताले ग्रस्त भएर उभिने व्यक्ति कसरी रुपान्तरणको संवाहक होला ? चुनौति र खतरा मोल्न सक्ने नेतृत्वको आवश्यकता परेको समस्यामा यथास्थितिमा रमाउने, गलत तत्वलाई प्रोत्साहित गर्ने, अवैध् रकम प्रयोग गरेर पार्टी कब्जा गर्न खोज्ने प्रवृत्तिप्रति समयमा नै सचेतना अपनाउन सकिएन भने योभन्दा खराब स्थिति आउँछ । त्यसको सामना कसले गर्ने, कसरी गर्ने ? जसरी पनि आफ्नो स्वार्थ र चाहना पूरा हुनुपर्दछ भन्ने सोच र चिन्तनबाट ग्रस्त भएसम्म सुधार, परिवर्तन वा रुपान्तरणको सम्भावना कमजोर नै हुन्छ ।
कांग्रेसको अनिश्चित महाधिवेशनमा नेतृत्वको दाबी गर्नेहरु अधिकांशले रुपान्तरणको मुद्दालाई उठाएका छैनन् । पुरानो, ऐतिहासिक र जिम्मेवार राजनीतिक दल जसले आधुनिक नेपालको लोकतान्त्रिकरणको आन्दोलनमा नेतृत्व गरेको छ, उसमाथि पटक पटक प्रश्न उठेको छ, असफल भएको छ, जनताको आशा र भरोसामाथि ठेस पु¥याएको छ, तर पनि सुध्रिएको छैन, सच्चिएको छैन । सुध्रिने र सच्चिने ठोस प्रस्तावना प्रस्तुत गरेको छैन । तिनै युरोप, अमेरिका जान नसकेको, खाडी मुलुक नगएका, अन्य वैकल्पिक पेसा र व्यवसाय नभएका अवैद्य कर्म गरेर अकूत कम्ल्याएकाहरुबाटै काम चलाउन खोजेको देखिन्छ । अर्थात् स्वार्थसिद्ध गर्न चाहानेहरुकै सेवा गर्ने हेतुले अगाडि बढ्न खोजेको देखिन्छ । जो जसरी सत्तामा आए गए पनि बरु भाग्य उदाएको भए पनि वा पार्टीको नेतृत्व परिवर्तन भए नभए पनि जनताले परिवर्तन वा फरकपनको अनुभूति गर्न सकेनन्, आशा गरेनन, विश्वास र भरोसाको वातावरण बनेन भने कुनै पनि व्यवस्था, प्रणाली, नेतृत्व सरकार आउनु जानुको अर्थ हुँदैन । कांग्रेसको महाधिवेशन वा नेतृत्वले आशा जगाउन, विश्वास दिलाउन, परिवर्तन वा रुपान्तरणको भरोसा प्रत्याभूत गर्न सकेन भने हुनु नहुनु, आउनु जानुको कुनै अर्थ रहने छैन ।




