गुरु गौरव हुन् सुर सौरभ हुन्
गुरु हार जुहारत दौलत हुन् ।
गुरु पालक पारख प्रेरक हुन्
गुण ज्ञान सदैव सजावट हुन् ।।
गुरु पार्वत व्यास वृहस्पति हुन्
गुरु नानक काबिल काव्य बनुन् !
अनुवाद प्रभास प्रभा प्रभुझैं
बल बर्गत बुद्घ विनायकझैं ।।
गुरुमा गुरुबा मननीय सधैं
धरती भरमा गुरु नायकझैं ।
करुणा र क्षमा सपना विपना
शिर शिक्षक दीक्षक हुन् उपमा ।।
अभिवादन पाठ पढाउँदछन्
गुरु सङ्ग्रह सागर जाँगर हुन् ।
गुरु मन्त्र दिने गुरु तन्त्र दिने
गुरु अक्षर शब्द विचार दिने ।।
गुरु– शिष्य सधैं नङमासु सरि
गुरुबेगर जीवन धन्य कहाँ ।
गुरु शिर सदैव सिरान हुने
गुरु बिर्सिदिए अपमान हुने ।।
लटरम्म लता फल बोट हुँदो
उखुमा कति स्वाद मिठास मिठो !
अनुशासन नित्य चरित्र सबै
गुरु सार्थक सर्जक तीर्थ सबैं ।।
गुरु नै प्रतिभा परिणाम उचा
प्रतिमा स्मृति स्मारक हार्दिकता ।
गुरु–मार्ग लिई हिंड गर्व गरी
शिशु कर्मठ मै घुम विश्वभरि ।।
किन चालक ऊ कहलिन्छ गुरु ?
कति वस्त्र सिएर बनिन्छ गुरु ?
गुरु ज्ञान विवेक कहाँ छ कहाँ !
थप आदर दाम छ ज्योति जहाँ ! ।।
* * *
मादी न.पा.– ६, संखुवासभा
हालः लोकन्थली, भक्तपुर
९८४२०९९८३१




