काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको जानकारी दिएका छन् ।
नेपाली काँग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ । बैठक भोलि शनिबार पनि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने छ ।
आज बसेको बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रारम्भिक प्रतिवेदन पेस गरेका थिए । दुवै प्रतिवेदनमाथि छलफलपश्चात् शनिबार पुनः बस्ने पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने सम्बन्धमा आवश्यक निर्णय लिन सक्ने डा.महतले बताए ।
काँग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकेको थियो । केही जिल्लाको विवादका कारण उक्त कार्य अहिलेसम्म सम्पन्न हुन नसकेकाले पनि महाधिवेशन तालिका प्रभावित हुने निश्चित छ ।
काँग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको छ । संशोधित कार्यतालिकाअनुसार गाउँरनगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।
यसैगरी, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।




