राजनीति

ओली पनि ‘फर्गेट एस्टर्डे’ को लाइनमा

काठमाडौं । दुई वर्षअघि सभामुख कृष्णबहादुर महरा संसद् सचिवालयकी एक महिला कर्मचारीसँग अन्तरंग काण्डमा मुछिए । सो प्रकरणका कारण महराले सभामुख पद गुमाउन पुगे । झन्डै सांसद पद पनि गुमेको थियो, तर विभिन्न शक्तिकेन्द्र प्रयोग गरी उनलाई सफाइ दिइयो ।

महरा रक्सीसहित ती महिला कर्मचारीको कोठामा पुगेका थिए । आफूलाई महराले जबर्जस्तीकरण गर्न खोजेको भन्दै उनले मिडिया गुहारिन् । प्रहरीमा उजुरी दिइन् । त्यसबेला उनलाई महराले पठाएको एउटा म्यासेज निकै चर्चित थियो । जसमा लेखिएको थियो– फर्गेट एस्टर्डे अर्थात् हिजोका कुरालाई बिर्सिदेऊ । तर, त्यही प्रकरणले महराको इज्जत धुलिसात भयो भने राजनीतिक भविष्य पनि दाउमा लाग्यो ।

अहिले तिनै महराले लेखेको कुरालाई एमाले अध्यक्ष केपी ओलीले अनुशरण गरेका छन् । झन्डै दुई तिहाइ बहुमतका साथ प्रधानमन्त्री बनेर एमाले र माओवादी केन्द्र एकता भई बनेको नेकपा खारेज गराएको, एमाले पनि विभाजनउन्मुख बनाएका ओलीले बिहीबार माधवकुमार नेपाल पक्षलाई भने– आफ्नो गल्ती स्वीकार गरेर आउनुस् म आममाफी दिन्छु । फर्गेट एस्टर्डे अर्थात् हिजो जे भयो भयो, अब सँगै मिलेर अघि बढौं । हिजोको कुरा बिर्सिनुस् ।

आफू चारैतिर घेराबन्दीमा परेपछि तथा पार्टीमै एक्लो भएपछि ओली माधवकुमार नेपालसँग घुँडा टेक्न आइपुगेका हुन् । आफू बलियो हुँदासम्म ओलीले नेता नेपाल पक्षलाई राम्रैसँग दोहोलो काढेका थिए । तर, त्यही कार्यशैलीले अहिले एमाले तहसनहस बनेको छ । पार्टीमा चरम अन्तरविरोध देखिएको छ ।

कुनै पनि हालतमा माधव पक्ष नझुक्ने बरु नयाँ पार्टी नै गठन गर्ने ढंगले अघि बढेपछि ओलीले कारबाहीका लागि सोधेको २४ घन्टे स्पष्टीकरण पनि औपचारिकतामै मात्र सीमित हुने देखिएको छ । ओलीले माधव पक्षलाई पार्टीबाट निष्कासन गर्ने हिम्मतसमेत देखाउन सकेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *