देश

बढ्यो विप्लवको राजनीतिक सक्रियता, भेटे कमल थापा

काठमाडौं । प्रतिनिधिसभा दोस्रोपटक पुनःस्थापना भएसँगै नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीतिक सक्रियतालाई ह्वात्तै बढाएका छन् । यसबीचमा उनले प्रायः सबै दलका शीर्ष नेतासँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री केपी ओली भएका बेला विप्लव खुला राजनीतिमा आएका थिए । त्यसबेला सरकार र नेकपाबीच तीनबुँदे सहमति भएको थियो । तर, तीनबुँदे सहमति कार्यान्वयन नगर्दै ओली सरकार ढल्यो । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । देउवाले गठबन्धन सरकारको नेतृत्व गरेका छन् ।

त्यसलगत्तै विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट भेटवार्ता सुरु गरेका हुन् । अहिलेसम्म उनले प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, मोहन वैद्य किरणसँग भेटवार्ता गरिसकेका छन् ।

यसैक्रममा शुक्रबार बिहान विप्लवले राप्रपा नेताहरूसँग भेटवार्ता गरेका छन् । उनी खडगबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोलासहितका नेतालाई लिएर विशालनगरस्थित राप्रपा अध्यक्ष कमल थापा निवास पुगेका थिए । अध्यक्ष थापाका अनुसार विप्लवसहितका नेकपा नेताहरू र राप्रपा नेताहरुबीच सौहार्दपूर्ण भेटघाट भएको छ ।

दुवै पक्षका बीच समसामयिक विषयमा विचार विमर्श भएको र विप्लव नेतृत्वको नेकपासँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको थापाले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *