विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकमा कुटाकुट भएको छ । बिहीबार मोरङको उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा भएको नगरस्तरीय विस्तारित बैठकमा एमाले कार्यकर्ताबीच आक्रमण र तोडफोड भएको हो ।
ओली समूहले नगरसमिति घोषणा गर्ने र सदस्यता नवीकरण गर्ने भन्दै विस्तारित बैठक आयोजना गरेको थियो । एमाले मोरङ संयोजक ऋषिकेश पोखरेल बैठकमा जाने कार्यक्रम थियो । उक्त भेला सुरु हुनुभन्दा अगाडि नै कार्यकर्ताहरुबीच आपसमा झडप हुँदा बैठक विथोलियो ।
सो समूहका उर्लाबारी नगर संयोजक उमाकान्त गौतमका अनुसार विस्तारित बैठक आयोजना हुनुभन्दा अगाडि नै तोडफोड भयो । ओली समूहले भने माधव समूहका कार्यकर्ताले तोडफोड गरेको हुनसक्ने आशङ्का गरेका छन् । तर, माधव समूहका नगर संयोजक गंगा बास्तोलाले आफूलाई बैठकमा भएको तोडफोडको विषयमा जानकारी नभएको बताए ।
आफ्नो समूहका कोही पनि सदस्यलाई उक्त बैठकमा नजान यसअघि नै निर्देशन गरेको बताउँदै उनले आफूहरुको बदनाम गर्नका लागि ओली समूहले सुनियोजित रुपमा हल्ला चलाएको हुनसक्ने बताएका छन् । ओली समूहको कमिटीमा कसलाई राख्ने वा नराख्ने भन्ने विषयमा विवाद हुँदा आपसमा झडप भएको बताइएको छ ।




