राजनीति

माधव नेपालले दिए स्पष्टीकरण, सर्वोच्चको आदेशअनुसार नै देउवालाई विश्वासको मत दिएको प्रस्टोक्ति

काठमाडौं । अन्ततः एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । नेता नेपालले बिहीबार दिउँसो पार्टीलाई स्पष्टीकरण बुझाएका हुन् ।

उनले आफ्नो जवाफमा सर्वोच्च आदलतको फैसला र लोकतात्रिक मूल्य मान्यता अनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको प्रस्टोक्ति दिएका छन् । नेता नेपालले २३ फागुनको सर्पोच्चको फैसलापछि नयाँ परिस्थितिमा पुनः पार्टी एकता प्रक्रिया अघि बढाउनुको साटो एउटा विचार समूहलाई मात्र लिएर हिँड्दा समस्या आएको जिकिर गरेका छन् ।

उनले ११ फागुनमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि ओलीले प्रधामन्त्री र दल नेताबाट राजीनामा दिनुको साटो सत्तामा रहिरहने प्रवृत्ति देखाएको पनि उल्लेख गरेका छन् । ‘त्यसैले २७ वैशाख २०७८ मा तत्कालीन प्रधानमन्त्रीले विश्वासको मत लिँदा म समेतले उक्त प्रक्रियामा सहभागी हुन वाञ्छनिय ठानेनौँ र अनुपस्थित रहेका हौं । यो एक राजनीतिक निर्णय थियो,’ उनले पत्रमा लेखेका छन् ।

पार्टी अध्यक्ष ओलीले नै विधानको गम्भीर उल्लंघन गरेकाले आफू विपक्षमा उभिएको भन्दै नेता नेपालले भनेका छन्, ‘अध्यक्षले गरेका गैरसंवैधानिक, विधानविपरीत, सम्मानित सर्वोच्च अदालतको आदेशको बर्खिलाप र अलोकतान्त्रिक कार्यको प्रतिवाद स्वरुप गरिएको एक लोकतान्त्रिक अभ्यासलाई वैचारिक र राजनीतिक अन्तरविरोधका रुपमा बुझ्दै सोही अनुसार वार्ता, छलफल र सहमतिमा पार्टीलाई एकतावद्ध बनाउन आवश्यक छ ।’

उनले पार्टी अध्यक्ष ओली २८ फागुन २०७७ यता पार्टीको विधान र प्रक्रिया विपरीत अघि बढेको र नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको जिम्मेवारी परिवर्तन गर्ने, २३ जनालाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधानमा संशोधन गर्ने जस्ता निर्णय गरेको बताइएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *