काठमाडौं । गत आइतबार संसदबाट विश्वासको मत प्राप्त गरेसँगै देउवा सरकारले छिट्टै पूर्णता पाउने चर्चा चलेको थियो । तर, सहमतिको सरकार गठन गर्नुपर्ने भएकाले अझै केही दिन ढिलो हुने अनुमान गरिएको छ । यद्यपि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र कांग्रेसभित्रै पनि आज वा भोलिसम्म सहमति जुट्यो भने आउँदो शुक्रबारसम्म सरकारले पूर्णता पाउने प्रधानमन्त्री शेरबहादुर देउवा निकटस्रोतले बताएको छ ।
प्रधानमन्त्री देउवाले २४ वटा मन्त्रालयमध्ये अहिले चारजनालाई मात्र जिम्मेवारी दिएका छन् । आफ्ना दुई विश्वासपात्र बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई न्याय कानुन तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्तका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा नजाने भएपछि माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का दुवै खेमा देउवा सरकारका सहयात्री हुनेछन् ।
मन्त्रिमण्डलको खाका कस्तो हुनेछ भन्ने कुराको भेउ अहिलेसम्म कसैले पाएका छैनन् । यद्यपि तीनवटै दलबाट एक–एकजना उपप्रधानमन्त्री रहने गरी समीकरण मिलाउने तयारी भइरहेको छ । जसपालाई ७ र माओवादी केन्द्रलाई ८ वटा मन्त्री दिएर बाँकी कांग्रेसले राख्नेछ ।
जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित परराष्ट्र वा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिन खोजिरहेका छन् । महन्थ ठाकुरलाई दुईवटा मन्त्रालय दिएर बाँकी पाँचवटामा पहाडे, महिला र जनजातिको समीकरण मिलाउन जसपाभित्र कसरत भइरहेको छ । महन्थ ठाकुरले राजेन्द्र महतो र अनिल झालाई सरकारमा पठाउने तयारी गरेका छन् ।
माओवादी केन्द्रले दुईजनालाई सरकारमा पठाइसकेको छ भने छ जना क्षेत्र, लिंग र जातीय सन्तुलन मिलाउने प्रयास भइरहेको छ । यद्यपि पार्टीको शीर्ष नेताहरु मध्येकै सरकारमा जाने सम्भावना छ । कृष्णबहादुर महरा, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, वर्षामान पुनलगायतलाई मन्त्रीको जिम्मेवारी दिइनेछ । कृष्णबहादुर महरा अथवा नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिइने तयारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेको बुझिएको छ ।
कांग्रेसको हकमा भने प्रधानमन्त्री देउवा स्पष्ट छन् । कांग्रेसको भागमा परेको ९ वटा मन्त्रालयमध्ये २ वटा फुलफिल भइसकेको छ । अब प्रधानमन्त्री देउवाले आफू निकट दुईजनालाई मन्त्री बनाउँदैछन् । त्यसमध्ये एकजना पुष्पा भुषाल हुन् भने अर्को डा. नारायण खड्का नाम आएको छ ।
कोइराला परिवार अथवा प्रकाशमान सिंहमध्ये एकजना उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा पुग्ने छन् । कोइराला परिवारबाट सुजाता हुनसक्ने बताइएको छ । कृष्ण सिटौलाले सिफारिस गरेका उमाकान्त चौधरी र वरिष्ठ नेता रामचन्द्र पौडेलले सिफारिस गरेका डा. मीनेन्द्र रिजाललाई सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइने छ भने दिलेन्द्र बडुले पनि महत्वपूर्ण मन्त्रालय पाउने भएका छन् ।




