काठमाडौं । एमालेमा वारपारको अवस्था आएपछि माधवकुमार नेपालसँग माओवादी केन्द्र र जसपाका नेताहरूको भेटवार्ता बाक्लिएको छ । मंगलबार बिहानै नेपाल निवास कोटेश्वरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव भेटवार्ताका लागि पुगेका थिए । सरकार विस्तारको सम्बन्धमा उनीहरुबीच भेटवार्ता भएको बताइएको छ ।
प्रचण्ड र माधव नेपालबीच भेटवार्ता सकिएलगत्तै यादव पुगेको नेपालको निजी सचिवालयले जनाएको छ । प्रचण्ड बिहान सवा ८ वजे कोटेश्वर पुगेका थिए । दुवैबीच एक घन्टा छलफल भएको थियो ।
नेपाललाई एमालेको ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ । मंगलबार दिउँसोसम्मलाई समय राखेर सोधिएको स्पष्टीकरणपछि आजै दिउँसो ३ बजे बस्ने ओली पक्षको केन्द्रीय समिति बैठकले नेपालसहित नेताहरुलाई कारवाहीको तयारी गरेको छ । यही पृष्ठभूमिमा प्रचण्ड नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् ।
माधव नेपाल ओलीसँग नझुक्ने, ओली सच्चिन तयार रहे पुरानै अवस्थाबाट एकताका लागि अब पहलकदमी लिने, तर ओली सच्चिनै तयार नभए र अझै पनि अहंका रुपमा अगाडि बढन् खोजे नयाँ राजनीतिक कोर्स सुरु गर्ने रणनीतिमा छन् ।




