काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललगायत प्रधानमन्त्रीमा शेरबहादुर देउवाको पक्षमा मतदान गर्नेहरुलाई पुनः ‘गद्दार’ को संज्ञा दिएका छन् ।
आजदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले नेपाललाई देउवाको पक्षमा मतदान गर्नेहरु ‘कम्युनिस्ट आन्दोलनकै गद्दार’ भएको आरोप लगाए । उनले वरिष्ठ नेता नेपाललाई अब एमालेमा कुनै ठाउँ नभएको घोषणा समेत गरे ।
अरु गल्ती स्वीकार गरेर, सच्चिएर आए स्वागत गर्ने तर माधवकुमार नेपाललाई कुनै ठाउँ नदिने ओलीले बताए । देउवालाई भोट हाल्ने काम ‘चरम अनैतिक’ भन्दै ओलीले सबैलाई कारवाही गर्ने बताए ।
पार्टीप्रति गद्दारी गर्नेलाई कारबाही नगर्ने हो भने एमाले पार्टी अब पार्टी नै नरहने पनि ओलीले बताए । ओलीले वरिष्ठ नेता नेपाल मात्रै होइन, माओवादी केन्द्र र प्रधानमन्त्री शेरबहादुर देउवामाथि पनि आक्रोश पोखे ।
प्रधानमन्त्री देउवाले जनविरोधी काम थाल्ने र सत्ताको दुरुपयोग गरी एमालेमाथि हमला गर्ने आरोप लगाए । यस्तै माओवादी केन्द्र अपराध कर्मबाट आएको पार्टी भन्दै आलोचना गरे । तर अहिले उ शिथिल भएको ओलीको टिप्पणी थियो । ओलीले आवश्यक परे देउवा सरकारविरुद्ध सशक्त प्रतिवादमा उत्रन पनि निर्देशन दिए ।




