काठमाडौं । एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधव नेपालसहित २२ सांसदलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए । स्पष्टीकरण चित्त नबुझेमा कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।
केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका थिए ।
नेता ज्ञवालीले आजको बैठक २०७५ जेठ २ गतेपूर्वको सिलसिलालाई जोड्ने गरी बसेको बताए । उनले केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गरेको जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने बेला त्यसले एमालेमा पारेको प्रभाव चर्चा गरेका थिए । देउवालाई एमालेका २२ सांसदले मत दिएका थिए ।
विश्वासको मत दिनेमा सांसदहरु प्रेम आले, हिराचन्द्र केसी, किसान श्रेष्ठ, पावर्ती विसङखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिमा हुसेन रहेका छन्। त्यसैगरी, वरिष्ठ नेता माधवकुमार नेपालसहित रामकुमारी झाक्री, मेटमणि चौधरी, विरोध खतिवडा, मुकुन्द न्यौपाने, निरादेवी जैरु, सरला यादव, लक्ष्मी चौधरी, पुष्पा कर्ण, कृष्णलाल महर्जन, भवानी खापुङ, कल्याणी खड्का, सरला यादव र गोपाल बम रहेका थिए ।




