काठमाडौं । एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पूर्वनिर्धारित बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदहरुलाई पार्टी अनुशासन उल्लंघनको कारवाहीबारे छलफल हुने बताइएको छ। एमाले स्थायी कमिटीको शनिबार बसेको बैठकले पार्टीको निर्देशनविपरित गए पार्टीको सदस्य नरहने चेतावनी दिएको थियो । प्रधानमन्त्री देउवालाई एमालेका २२ सांसदले मत दिएका थिए ।
पार्टी अध्यक्ष केपी ओलीको एकलौटी निर्णयलाई चुनौती दिँदै एमालेका २२ जना सांसदले देउवालाई विश्वासको मत दिएका छन्। आइतबार राति प्रतिनिधिसभामा भएको मतदानमा वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवालाई मत दिएका छन् । नेपाल पक्षकै १० जना सांसद भने अनुपस्थित भएका छन्।
संसद भवन पुगेर पनि मतदान गर्ने बेलामा उनीहरु योजनाबद्ध रुपमा बाहिरिएका हुन्। नेपाल पक्षकै सांसद भीम रावलले अन्तिम समयमा राजीनामा नै दिए भने झलनाथ खनाल उपचारका लागि दिल्लीमा छन्। यस आधारमा नेपालको पक्षमा ३४ सांसद पुगेका छन् ।
देउवालाई प्रधानमन्त्री बनाउन भन्दै सर्वोच्च अदालतमा हालेको रिट निवेदनमा २३ एमाले सांसदले हस्ताक्षर गरेका थिए । तर, विश्वासको मत दिने बेला त्यो संख्या बढेर ३४ पुगेको छ । यसरी हेर्दा एमालेमा माधव नेपाल झन् बलियो बनेका छन् । ओली पक्षमा खुल्दै आएका आठजनाले आइतबार देउवालाई मत दिएर नेपाल पक्षमा कित्ता परिवर्तन गरेका हुन् ।
अब एमालेका माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, विरोध खतिवडा, भवानी खापुङ, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, लक्ष्मी चौधरी, निरादेवी जैरू, कलिला खातुन, सविना हुसेन, कृष्णलाल महर्जन, रामकुमारी झाँक्री, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराई, झपट रावल, यज्ञराज सुनुवार, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, नारायण खतिवडा, राजबहादुर बुढा, झलनाथ खनाल छन् । भीम रावलले भने सांसद पदबाट राजीनामा दिएका छन् । राजीनामा स्वीकृत भने भइसकेको छैन ।




