राजनीति

प्रतिनिधिसभा बैठक बस्ने दिन नै कांग्रेस, एमाले र माओवादी केन्द्रले बोलाए बैठक

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्ने दिन प्रमुख तीन दलले आ–आफ्नो बैठक राख्दै छन् ।

सत्तारूढ नेपाली कांंग्रेसले संसदीय दलको बैठक आज बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक बोलाइएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलोपटक कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । आज अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भ छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो । बैठकमा विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोट लगायतका विषयमा पनि छलफल बताइएको छ ।

यस्तै, माओवादी केन्द्रले पनि संसदीय दलको बैठक बोलाएको छ । आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिए ।
माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरुको सहभागिताका विषयमा पनि छलफल हुने बताइएको छ ।

उता तीन वर्षपछि पहिलोपटक प्रमुख प्रतिपक्ष बनेको एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुले तत्काल बैठकको माहोल नभएको भन्दै केही दिन बैठक रोकेर १० वुँदे सहमति कार्यान्वयन गर्न गरेको प्रस्ताव अध्यक्ष केपी ओलीले मानेका छैनन् ।

नेपाललाई मनाउन सधैं बैठक रोक्न नसकिने भन्दै ओलीले आज स्थायी कमिटी बैठक डाकेका हुन् । आजको बैठकले भोलि केन्द्रीय कमिटीको बैठक बोलाउने बताईएको छ ।

यसअघि गत शुक्रवार बसेको स्थायी कमिटी बैठकले १० वुँदे सहमति अनुमोदन गर्दै विवाद समाधानका लागि गठित कार्यदल भंग गरेको थियो । कार्यदल भंग गरिए पनि हिजो बिहान कार्यदलका सदस्यहरु अनौपचारिक छलफलमा जुटे ।

उनीहरुले ओली निवास बालकोट पुगेर आजको लागि तय गरिएको बैठक रोक्न आग्रह गरेका थिए । एमालेको नेपाल समूहले प्रधानमन्त्री देउवालाई विश्वाशको मत दिने संकेत दिएपछि पार्टी एकता फेरि धुमिल भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *