राजनीति

जसपाका सांसदहरु धमाधम कित्ता परिवर्तन गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर समूहका पाँच सांसद् अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा पुगेका छन् । पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको जसपा उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा ठाकुर पक्षमा रहेका प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् ।

त्यस्तै सांसद रुही नाजले पनि आफु यादव पक्षमा नै रहेको र उपत्यका बाहिर रहेकाले बैठकमा सहभागी हुन नसकेको जानकारी गराएको जसपा सांसद मृगेन्द्रकुमार सिंह यादवले जानकारी दिए ।

संसदीय दलको अनौपचारिक बैठकमा संसदमा निर्वाह गर्ने भूमिका बारेमा छलफल भएको यादवले बताए । त्यस्तै उनले निर्वाचन आयोगले पार्टीका बिषयमा निर्णय गरेपछि संसदीय दलको नेता चयन लगाएतको प्रक्रिया सुरु गर्ने पनि बताए ।

जसपाका दुवै पक्षले निर्वाचन आयोगलाई आफूहरूलाई अलग गराइदिन आग्रह गरिसकेका छन् । पाँच सांसद यादव समूहमा लागेपछि अब यादव समूह झन् बलियो हुने देखिएको छ । ३२ सांसदमध्ये अव यादव पक्षमा १७ सांसद रहेका छन् भने ठाकुर पक्षमा १५ सांसद रहनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *