लुम्बीनी । लुम्बिनी प्रदेशसभाको अधिवेशन गत रातिबाट अन्त्य भएको छ । मुख्य मन्त्री शङ्कर पोखरेलले मध्यरातमा प्रदेश प्रमुख मार्फत प्रदेशसभाको आठौँ अधिवेशनको अन्त्य गराएका छन् । बजेट पारित हुने सम्भावना नदेखेपछि मुख्यमन्त्री पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले बिहीबार मध्यराति बजेट अधिवेशन अन्त्य गरेका हुन् ।
हिजो मुख्यमन्त्रीको जवाफी भाषण सकिए लगत्तै प्रदेशसभामा सत्तापक्ष एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखमार्फत् थप छलफलका लागि समय माग गरेका थिए । सभामुख पूर्णबहादुर घर्तीले छलफल गर्न विपक्षी सांसदहरूसँग राय माग्दै गर्दा मुख्यमन्त्री पोखरेल सभा हलबाट बाहिरिएका थिए । सत्तापक्षको सदन बहिस्कार पछि शुक्रबार आज दिउँसो १ बजे सम्मका लागि सभामुखले बैठक स्थगित गरेको थिए । सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगित गरेको थियो । तर बिहिबारै मुख्यमन्त्री पोखरेलले मध्यरात सभाको अधिवेशन नै अन्त्य गरिदिएका छन् ।
मध्यरातमा सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले अधिवेशन अन्त्य भएको सूचना सार्वजनिक गरेको छ । असार ३१ को मन्त्रिपरिषद्को बैठकको निर्णय बमोजिम मुख्यमन्त्री शङ्कर पोखरेलबाट अनुरोध भएपछि अनुसार चालु आठौँ अधिवेशनको अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयबाट प्रकाशित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा कार्यालयका प्रवक्ता चिरञ्चिवी पौड्यलले हस्ताक्षर गरेका छन् भने पत्र सङ्ख्या र चलानी नम्बर उल्लेख छैन ।





