काठमाडौं । इतिहासकै शक्तिशाली प्रधानमन्त्री दाबी गरिएका केपी ओली सडकमा पुगेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आकर्षणको केन्द्र बनेका छन् । एक सातायताको राजनीतिक परिदृश्य हेर्दा पनि त्यसको पुष्टि हुन्छ ।
माधव नेपाल नेपालको राजनीतिको आकर्षणको केन्द्र मात्र बनेका छैनन्, उनको निवास कोटेश्वर अहिले शीर्ष नेता जमघट हुने थलो बनेको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति एक साताकै बीचमा दुई–दुईचोटि कोटेश्वर पुगिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त दिन बिराएरै जाने गरेका छन् । केपी ओलीबाहेक अरुलाई गन्दै नगन्ने नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव पनि कोटेश्वर पुगेर नेता नेपालसँग भेटवार्ता गरेका छन् ।
एमालेका दोस्रो तहका नेता त कोटेश्वर जाने नै भए । केपी ओलीबाहेक एमालेका प्रायः नेता कोटेश्वर पुग्ने गरेका छन् ।
केही समयअघिसम्म एमाले अध्यक्ष केपी ओली राजनीतिको केन्द्रमा थिए । प्रधानमन्त्रीका रूपमा ओलीको बहिर्गमन दुर्दान्त भयो । नेपालको राजनीतिमा आफूले जे चाह्यो त्यही हुनेमा उनी ढुक्क थिए । साढे तीन वर्षसम्म भयो पनि त्यस्तै । तर, त्यही घमण्डका कारण अहिले उनी सडकमा आइपुगेका छन् ।
यदि माधव नेपाल, प्रचण्डहरूले बृहत् कम्युनिस्ट केन्द्र बनाए भने ओलीको हालत निकै कमजोर हुने निश्चित छ । किनभने एमालेको माधव नेपाल एमालेको लिगेसी बोकेका नेता हुन् । उनले १५ वर्ष महासचिवका रूपमा एमालेको नेतृत्व गरेका थिए ।






