देश

देउवा र माधव नेपालको दोस्ती

काठमाडौं । यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले हात मिलाएको तस्बिर चर्चामा छ । मंगलबार राति शीतल निवासमा प्रधानमन्त्रीको सपथ लिएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पहिलोचोटि हात मिलाएर बधाई दिएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई नदिई बाहिरिएपछि माधव नेपालले सुरुमै बधाई दिए । त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतले बधाई अभिभादनसहित बधाई दिएका थिए ।

तर, देउवा र माधव नेपालले हात मिलाएको तस्बिर अहिले एमाले ओली पक्षका नेता कार्यकर्तालाई पच्न सकेको छैन । आफ्नै पार्टीको सरकार ढालेर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाएको भन्दै नेपालको आलोचना भइरहेको छ । तर, नेता नेपालले त्यसलाई खासै महत्व दिएका छैनन् । उनले संविधान र कानुन मान्दै नमानी हिँड्ने, स्वेच्छाचारी ढंगले अघि हिँड्ने, पार्टीलाई एकलौटी चलाउने ओली प्रवृत्तिलाई पराजित गरेको टिप्पणी गरेका छन् । त्यसैले पनि नेपाल देउवाको सपथग्रहणमा सबैभन्दा पहिले पुगेका थिए ।

पाँच महिनाअघिसम्म देउवा र ओलीबीच हार्दिक सम्बन्ध थियो । ओलीले चालेका कदमप्रति देउवाले कडा आलोचना नगरेको भन्दै आलोचना गरिएको थियो । तर, जब माधवकुमार नेपाल आफैं बुढानिलकण्ठ पुगेर देउवालाई प्रधानमन्त्री बनिदिन र ओलीको प्रतिगमनविरुद्ध आन्दोलनको नेतृत्व गरिदिन प्रस्ताव गरे, तबदेखि देउवा र नेपालबीच सम्बन्ध प्रगाढ बन्दै गएको हो । माधव नेपालकै विशेष आग्रहमा देउवा ओली प्रवृत्तिविरुद्ध कानुनी लडाइँ र सडक आन्दोलनमा अघि सर्न राजी भएका हुन् ।

देउवा प्रधानमन्त्री बने पनि विश्वासको मत नलिएसम्म सरकारको आयु निश्चित छैन । तर, पनि पछिल्लो समय देउवा र नेपालबीचको प्रगाढ सम्बन्धले देउवा विश्वासको मत लिन सफल हुने बताउन थालिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *