काठमाडौं । एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीले बुधबार बालुवाटार छाड्दैछन् । आज बिहान ११ बजेपछि उनी सरकारी निवास बालुवाटर छाडी भक्तपुरको बालकोटस्थित आफ्नै निजी निवासमा सर्न लागेका हुन् ।
प्रधानमन्त्री नियुक्त भएपछि ओलीले बालकोट छाडेका थिए । उनले एमाले नेता गोकुल बासकोटालाई आफ्नो निवासमा राखेका थिए । मन्त्रीक्वार्टरमा ठाउँ नभएपछि बासकोटा सञ्चारमन्त्री भएका बेला पनि ओली निवासमै बसेका थिए ।
युवा संघको युथ फोर्सले पाँच हजार सवारीसाधनले स्कर्टिङ गरी ओलीलाई बालुवाटारबाट बालकोट लैजाने कार्यक्रम रहेको बताएको छ ।
सर्वोच्च अदालतको आदेशानुसार सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले बालुवाटार छाड्न लागेका हुन् ।
देउवा पाँचौंपटक नेपालको प्रधानमन्त्री बनेका छन् । केही दिनभित्रै साइत जुराएर देउवा बुढानिलकण्ठबाट बालुवाटार सर्ने भएको छन् ।




