राजनीति

पाँच पटक प्रधानमन्त्री बनेका देउवाको विगत यस्तो

काठमाडौं । सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । देउवा नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता हुन् । २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका देउवा पछिल्लो पटक २०७८ असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । यो उनको पाँचौं प्रधानमन्त्री कार्यकाल हो ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको जन्म विक्रम सम्वत् २००३ सालमा डडेल्धुरा जिल्लाको असीग्राम गाविस वडा नम्वर ५ रूवाखोलामा भएको हो । सामाजिक विकास अभियन्ता पत्नी आरजू राणा देउवा र छोराका साथ हाल उनी बूढानिलकण्ठ नगरपालिका काठमाण्डौमा बसोवास गर्छन् । त्रिभुवन विश्वविद्यालयबाट मानविकी र कानूनमा स्नातक गरेका देउवाले सोही विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तह उतीर्ण गरेका छन् । उनी सन् १९८८–८९ मा बेलायतको प्रतिष्ठित शैक्षिक संस्था लण्डन स्कूल अफ इकोनोमिक्सको राजनीतिशास्त्र विषयका रिशर्च फेलो थिए ।

सुदूर पश्चिमाञ्चल विद्यार्थी संघको संस्थापक सदस्य भई प्रजातान्त्रिक आन्दोलनमा समर्पित भएका शेरबहादुर देउवा नेपाली काङ्ग्रेसको छात्र विभाग– नेपाल विद्यार्थी संघको संस्थापक सदस्य पनि हुन् । पछि उनले नेपाल विद्यार्थी संघको अध्यक्षका हैसियतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थी समूहलाई समाहित गर्न नेतृत्वदायिनी भूमिका निर्वाह गरेका थिए ।

प्रजातान्त्रिक समाजवादमा विश्वास राख्ने नेपाली काङ्ग्रेसको नेताका हैसियतले शेरबहादुर देउवा विश्व समाजवादी आन्दोलनसँग पनि अभिन्न रूपले जोडिएका छन् । सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेशनलका उपाध्यक्ष रहेका देउवा सन् २०१३ देखि हालसम्म त्यो अन्तर्राष्ट्रिय समाजवादी संगठनको एसिया क्षेत्रको अध्यक्ष र अन्तराष्ट्रिय उपाध्यक्ष छन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनको मियोको रूपमा रहेको ऐतिहासिक राजनीतिक संगठन नेपाली काङ्ग्रेसका वरिष्ठ नेता देउवाले शुरूमा गृहमन्त्रीको पद सम्हाल्दै सन् १९९५ देखि २००५ सम्मको एक दशकको छोटो अवधिभित्र तीनपटक मुलुकको प्रधानमन्त्रीको पद सम्हालेर आफ्नो क्षमता प्रदर्शित गरिसकेका छन् । ५० वर्ष भन्दा बढी समय राजनीतिमा समर्पित देउवा सन् ६० को दशकदेखि हालसम्म निरन्तर प्रजातान्त्रिक राजनीतिमा सक्रिय छन् । विद्यार्थी राजनीतिकालदेखि नेपाली काङ्ग्रेसले चलाएको प्रजातन्त्रको पुनर्वहालीको आन्दोलनका क्रममा पटक–पटक गरी करिव १० वर्षभन्दा देउवाले विभिन्न जेलमा बिताउनु परेको थियो । सन् २००४–२००५ मा ज्ञानेन्द्र शाहले तत्कालीन प्रधानमन्त्री देउवालाई असक्षम बताउँदै पदबाट बर्खास्त गरी फगत प्रतिशोधका आधारमा १० महिना नजरबन्दमा समेत राखेका थिए ।

समसामयिक राजनीतिक वृत्तमा शेरबहादुर देउवा वरिष्ट, प्रतिष्ठित र परिपक्व नाम हो । २०४६ सालमा नेपालमा प्रजातन्त्रको पुनस्र्थापना भएपश्चात सम्पन्न तीनवटा संसदीय निर्वाचनमा आफ्नो गृह जिल्ला डडेलधुराको एकल निर्वाचन क्षेत्रबाट भारी वहुमतले विजय प्राप्त गरी संसदमा प्रतिनिधित्व गरेका थिए भने विसं. २०६४ र २०७० मा सम्पन्न संविधानसभाका दुवै चुनावमा डडेलधुरा र कञ्चनपुर तथा डडेलधुरा र कैलाली गरी दुई–दुई ठाउँबाट देउवाले अत्याधिक मतान्तरका साथ विजय हात पार्दै नयाँ कीर्तिमान कायम गरेका थिए ।

दूरदर्शी नेता शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री भएको समयमा सन् १९९६ मा नेपाल र भारतको सीमाना भएर बग्ने महाकाली नदीको पानीमा दुवै देशको बराबर हक लाग्ने गरी भारतसँग महाकाली सन्धि गरेर पूर्ववर्ती प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा भएको महाकाली सम्बन्धी सम्झौतासँग जोडिएका अन्यौल र विवादको नेपालका हित हुनेगरी समाधान गरेका थिए । उनले आफ्नो कार्यकालमा नेपालमा मूल्य अभिबृद्धि कर लागू गरी मुलुकको आर्थिक विकासमा ठूलो टेवा पु¥याएका थिए । उनकै प्रधानमन्त्रित्वकाल सन् २००२ मा अख्तियार दुरूपयोग अनसन्धान आयोगलाइ सुदृढ र शक्तिसम्पन्न बनाउने कानून तर्जुमा गरी संसदबाट पारित गराएका थिए । उनको त्यो कदमले मुलुकबाट भ्रष्टाचारको अन्त्य गर्ने विधिवत् प्रक्रिया सुचारू भएको थियो ।

आफैँ पनि पछिडिएको सुदूरपश्चिमाञ्चल क्षेत्रबाट आएका देउवाले देशका पछिडिएका भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेश (कदमजम) को अवधारणा ल्याई ती वर्ग र समुदायलाई प्रत्यक्ष लाभ हुने विभिन्न कार्ययोजना लागू गर्ने प्रयत्न गरेका थिए । उनकै पालोमा कमैया मुक्तिको घोषणा हुनुका साथै मुक्त कमैयाहरूलाई पुनस्र्थापना गरिएको थियो । त्यसका साथै प्रधानमन्त्रीका हैसियतमा उनले भूमिहीन थारूहरूलाई जग्गा उपलव्ध गराउने र सीमान्तकृत वर्गका जनतालाई सुविधा दिन विभिन्न कार्यक्रमहरू सञ्चालन गराएका थिए । देउवाले देशमा लागू भएको भूमिसुधार कार्यक्रममा समयानुकूल सुधार गरी जमीनको दोहोरो स्वामित्वको प्रथालाई अन्त्य गरेका थिए ।

उनको नेतृत्वमा संसदले मुलुकी ऐनको ११ औं संशोधन गरेर महिलालाई समान अधिकार र सम्पत्तिमाथिको हक सुनिश्चित गराएको थियो । साथै पूर्व–पश्चिम राजमार्गको कर्णाली–चिसापानी पश्चिमको खण्डमा २२ वटा पक्की पुलको निर्माण गराई मुलुकको बाँकी भागबाट अलग–थलग रहेको सुदूरपश्चिमाञ्चललाई राष्ट्रिय यातायात सञ्जालसँग जोडेका थिए । उनकै पालामा विशेष वर्ग एवम् समुदायको हितपोषण गर्ने हेतुले राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोगहरू गठन गरिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *