काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा आजै साँझ सानो मन्त्रीपरिषद् लिएर सपथका लागि राष्ट्रपति कार्यालय शितल निवास जाने तयारीमा छन् । राष्ट्रपति कार्यालयले साँझ ६ बजे सपथका लागि समय तालिका मिलाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सानो मन्त्रिमण्डलमा कसले कति मन्त्रालय लिने भन्ने टुंगो अहिलेसम्म लागेको छैन । आकांक्षीहरुको नामलिष्ट लामो बनेकाले कांग्रेसदेखि माओवादी केन्द्रसँगै जनता समाजवादी पार्टी (जसपा) मा समेत सकस परेको बुझिएको छ ।
प्रधानमन्त्री देउवाले सबै कुरालाई मध्यनजर गरेर आफ्ना सहयोगीहरु छनोट गर्ने बुझिएको छ । प्रमुख सचेतक बालकृष्ण खाँण, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. मीनेन्द्र रिजाल र गगन थापालाई विभिन्न मन्त्रालयको जिम्मेवारी दिएर सारथी बनाउन सक्ने बुझिएको छ ।
माओवादी केन्द्रले गृह वा अर्थ अनिवार्य आफूहरुले पाउनुपर्ने माग राखेको छ । त्यस्तै, जसपाले पनि गृह वा अर्थमध्ये एक चाहिने अडान राख्ने गरी बैठकमा छलफल भइरहेको थियो ।
शक्ति सन्तुलन कायम गर्न सकिएन भने सरकार कमजोर बन्ने स्थिति रहेकाले सबैलाई समेट्न र चित्त बुझाएर अघि बढ्ने तयारीमा प्रधानमन्त्री देउवा रहेको बुझिएको छ ।
माओवादी केन्द्रबाट सहभागी गराउने मन्त्रीहरुको नामबारे अहिले आन्तरिक रुपमा व्यापक छलफल चलिरहेको छ ।
एक पक्षले कृष्णबहादुर महरालाई मन्त्री बनाउनुपर्ने दावी गरिरहेका छन् । त्यस्तै, जनार्दन शर्मा र नारायणकाजी श्रेष्ठको पनि मन्त्री बन्ने व्यापक चर्चा छ । उनीहरु सोही अनुसारले लविङमा छन् ।
जसपाबाट पनि मन्त्रीको लिस्ट तयार भइरहेको बुझिएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा देउवा सरकारमा जाने बुझिएको छ । तर मन्त्री को–को बन्दैछन भन्ने कुरा चाहिँ खुलाइएको छैन ।




