रिबन

सर्वोच्च अदालतको फैसला ऐतिहासिक र स्वागतयोग्य : सभापति देउवा

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतले गरेको फैसला ऐतिहासिक र स्वागतयोग्य भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । आज सोमबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले भने, ‘सम्मानित सर्वोच्च अदालतले नेपाली कांग्रेस लगायत ५ दलले दर्ता गरेको रीट निवेदन उपर गरेको फैसलाको हार्दिक स्वागत गर्दछु ।’ उनले यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको छ भने स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दलहरू, सबै कानून व्यवसायीहरू, भ्रातृ र शुभेच्छुक संस्थाहरु, नागरिक आन्दोलन र सजग सञ्चार माध्यम एवं स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदीबहिनी–दाजुभाइलाई बधाई ज्ञापन गर्दछु’ जारी विज्ञप्तिमा उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, ‘देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ । कसैले पनि यसलाई ब्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *