काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको छ । स्थायीप् कमिटी बैठकअघि दुई नेताबीच भेटवार्ता गराउने तयारी भएको हो ।
पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । कार्यदलमा सहमति जुट्न ढिलो भएपछि हिजो बोलाइएको बैठक आजका लागि सारिएको हो ।
बैठक आज बेलुकी ५ बजे बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार स्थायी कमिटी बैठकअघि कार्यदलका सदस्यहरुले पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता गराउने तयारी गरेका हुन् ।
हिजो भएको सहमतिमा दुई शीर्ष नेताहरुलाई समझदारी गराउने तयारी रहेको कार्यदल सदस्यहरुको भनाइ छ । तर, हिजोको १० बुँदे सहमतिप्रति माधव नेपालले असन्तुष्टि व्यक्त गरेका छन् ।




