नेपालमा कति चाँडै राजतन्त्र जिन्दावाद, गणतन्त्र मुर्दावादका नारा गुञ्जन थाले । कति चाँडै राजा आऊ देश बचाऊ भनेर युवाहरू सडकमा आइपुगे । सेनाले गणतन्त्रमाथि धावा बोलिदयोस् भन्ने स्वरहरू सजिलै घन्किन थाले । देशमा ठूलो संख्याले राजनीति गर्दछ, विभिन्न राजनीतिक दलहरू र तिनका लाखौं कार्यकर्ता, समर्थक र शुभचिन्तक छन् । संगठित रूपले हेर्ने हो भने नेपालमा नेपालीहरूको उपस्थिति नै नगन्य मात्रामा छ । यहाँ कम्युनिस्टहरू छन्, कांग्रेसहरू छन् । माओवादीहरू छन्, जनमोर्चाहरू छन् । त्यसैगरी, बाहुन क्षेत्री छन्, जनजाति, मधेसी, पहाडी, मुस्लिम, थारु, महिलाको बाक्लो उपस्थित छ । अर्कोतर्फ यहाँ हिन्दु छन्, बुद्धिष्ट छन्, किराँत, मुस्लिम तथा क्रिस्चियन छन् । यी सबैको संख्यालाई कटाएर बाँकी रहेको जनसंख्या मात्रै नेपाली हुने भएकाले नेपालीको संख्यालाई यहाँ नगन्य भन्न खोजिएको छ ।
उल्लेखित सबै विशेषताका मानिस सबै राजनीतिक दलमा अटाएर शासन गरिरहेको समयमा पनि सडकमा गण्तन्त्र मुर्दावादको नारा लाग्नु, राजतन्त्रको माग गर्दै सडक तातिनुले यिनीहरूलाई झापड हानेको होइन र ? जुन व्यवस्थालाई विश्वयापी रूपमै सर्वाेत्कृष्ट मानिन्छ त्यही व्यवस्थामाथि यति छोटो समयमै धावा बोलिनु कुनै पनि दृष्टिकोणले व्यवस्थाको असफलता हो । यवस्था आफैंमा असफल हुँदैन, बरु त्यसको नेतृत्व कमजोर भयो, स्वेच्छाचारी भयो वा अटेर र निरंकुश बन्दै गयो अथवा विचार र दृष्टिकोण स्खलित बनेर आर्थिक अपारदर्शिता बढ्दै गयो, सार्वजनिक जवाफदेहिता स्खलित बन्दै जान थालेपछि त्यसले व्यवस्थामाथि चुनौती सिर्जना गर्दछ र जनताले विकल्प खोज्न थाल्दछन् । अहिले सडकमा लागेका राजतन्त्र जिन्दावादका नारालाई पनि यसैको कुण्ठाको अभिव्यक्ति मान्न सकिन्छ ।
संविधानसभाले बनाएको सविधानले नेपाललाई स्वर्गमै पु¥याउँछ त्यही संविधानले देशलाई सिंगापुर र स्विडेन बनाउँछ भन्ने भ्रम छरेर दुईपटक संविधानसभाको चुनाव गरेर बल्लतल्ल संविधान त जारी गरे, त्यसले देशको आर्थिक अवस्था कति दयनीय भयो कसैले हेक्का राखेनन् । त्यसबेला कताकताको संविधान कपीपेस्ट गरेर एउटा दस्ताबेज त बनाए, तर त्यसभित्र के छ भन्ने कुरा अहिले उनीहरू आफैंलाई घाँडो बन्दै गएको छ ।
गणतन्त्र स्थापनापछिका दिनहरू हरेक दृष्टिकोणले मजबुत हुँदै जाने अपेक्षा हरेक नेपालीले गरेका थिए । अझ तत्कालीन माओवादीले नयाँ नेपालको भ्रम लिएर आउँदा साँच्चै हो कि क्याहो भनेर घोत्लिने अवस्थामा पु¥यायो । पुराना जति सबै फालेर सबै नयाँ र सबै क्षेत्रलाई पुनर्संरचित गर्ने हुइयाँ चलाएर नौ महिना जनताको दिमाग भुट्यो त्यो नयाँ नेपाल भनेर जंगलबाट संसद्मा आउनेका लागि मात्र रहेछ अरु सबैका लागि त पुरानै नेपाल छाडेछन् भन्ने तथ्य नौ महिनामै अभिव्यक्त गर्याे । त्यसपछिका दिनमा राजनीतिक संकट ब्यवस्थापनका नाममा एकथान संविधान जारी गर्नुबाहेक विकासका नाममा एउटा सिन्को भाँचिएन ।
देशमा पाँच वर्ष सरकार सञ्चालन हुन नसक्दा जनताले दुःख पाउने तथ्यलाई आत्मसात गर्दै २०७४ सालको निर्वाचनमा अलग ध्रुवका कम्युनिस्टहरू बीच चुनावी तालमेल र पछि पार्टी एकतासमेतको नाटक मञ्चन गरी संसद्मा झन्डै दुईतिहाइ संख्यासहित सरकार निर्माण गरी त्यसलाई स्थिर सरकारको नाम दिएर केही समय रमिता त देखाए, तर त्थो रमिता अरुले हेर्न नसक्ने खालको रमिता थियो । अब देशले स्थिर सरकार पाएको छ, नेपाली कांग्रेस मुलुकबाट सकिने संकेत हो भन्ने दम्ब र अहंकारसमेत देखाउन भ्याएका वाम नेताहरूलाई आफू पुरिने खाल्डो खनिँदैछ भन्ने हेक्का थिएन ।
लामो समयपछि देशले स्थिर सरकार पाएकोमा सर्वत्र खुसियाली नै छाएको थियो । अबको पाँच वर्षमा केही नभए पनि देशले पद्धतीय विकासमा फड्को मार्ने अपेक्षा सबैले गरेकै हो । पाँच वर्ष एउटै सरकारले शासन ग¥यो भने मुलुकले केहीमात्रामा शान्तिको स्वास फेर्ने अभिलाषाले प्रतिपक्षको रूपमा नेपाली कांगे्रसले पनि भद्र उपस्थिति देखाएकै हो, तर त्यसलाई पनि अहंकारले भरिएको सरकारले कमजोरीको रूपमा व्याख्या ग¥यो, जुन विडम्बना थियो ।
सरकार गफ, उखान, झुट, अहंकार र भ्रष्टाचारले ग्रसित बन्दै जाँदा देशले यति धेरै क्षति बेहोरिरहेको छ कि यस्तो किसिमको क्षति सायदै इतिहासमा अहिलेसम्म पुगेको थिएन । देशमा कोरोनाको यति ठूलो महामारीमा सरकारको उपस्थिति आफ्नै पार्टीभित्रको बितण्डामा केन्द्रित भयो । जनताले अक्सिजन नपाएर हजारौंंको संख्यामा ज्यान गुमाउँदासमेत सरकार बेखबर बन्न पुग्यो । जनतालाई घरभित्र थुनेर सरकार आफ्ना भजनमण्डलीसहित पक्ष र विपक्षको होडबाजी सृजना गरेर एकअर्कालाई सभा र जुलुस हेर्ने निम्तो दिनमा केन्द्रित हँुदा देशले दोस्रो भेरियन्टको नाममा धेरै ठूलो मानवीय क्षति बेहोर्नुप¥यो र अहिले पनि बेहोरिरहेको छ । यदि त्यस समयलाई कोरोनाविरुद्धको तयारीमा खर्चिएको भए आज हजारौं जनताको अकालमा ज्याल जाने थिएन ।
राजनीतिक दलहरूभित्र दलीय मर्यादा र दलीय अनुशासनभन्दा व्यक्तिवादी सोच र चिन्तनबाट ग्रसित बन्दै जाँदा राजनीतिक दर्शन र सिद्धान्त क्रमिक रूपले पतनउन्मुख हँुदै जान थाल्यो जसका परिणाम राजनीतिक दलहरूभित्र गुटगत चिन्तन हाबी हुँदै जान थाल्यो । गुटको भेला, गुटकै छलफल, गुटकै निर्णयअनुरूप पार्टी सञ्चालन गर्ने क्रम एकपछि अर्कोमा सर्दै जान थाले । अहिले आएर राजनीतिक दल, दलभित्रको गुट, गुटभित्रको उपगुट हुँदै व्यक्तिपूजक चिन्तन सबै दलहरूभित्र छरपष्ट भएको छ जसले मुलुक र जनतालाई भड्खालाेभित्र हाल्न खोजिरहेको देखिन्छ । नेताहरूमा राजनीतिक दल बलियो भयो भने मात्र नेता बलियो हुन्छ भन्ने यथार्थ टुटेर गयो । म कसरी बलियो हुने मेरो गुटलाई कसरी अरुको भन्दा ठूलो बनाउने र शक्ति हातमा लिने भन्ने मनोदशा यति व्यापक भएर गयो, अब आउने दिनमा कुनै पनि राजनीतिक दलको सदस्यता लिएर मात्र भएन सदस्यतासँगै गुटगत लाइसेन्स पनि प्राप्त भयो भने मात्र आधिकारिक बन्ने अवस्थाले दिनानुदिन राजनीतिक दल र नेताहरूप्रतिको दृष्टिकोण यतिधेरै स्खलित हुँदै गएको छ कि आफ्नै पार्टी र त्यसका नेताउपर पनि गुट नमिल्दा निकृष्ट नजर विकसित हुँदै गएको छ ।
कुनैबेला यस्तो अवस्था पनि थियो जहाँ नेता र कार्यकर्ता, नेता र जनता नेता र शुभेच्छुकहरूबीच परिवारको सदस्यको भन्दा भावनात्मक, रगतको नाताभन्दा पनि गहिरो र स्वार्थरहित, निष्कलंक सम्बन्ध थियो । आफ्नो पार्टीका नेताको तस्वीर मात्र घरमा टाँस्न पाउँदा जनताले आफूलाई निकै सुरक्षित र भावनात्मक भएको महसुस गर्दथे । आफ्नो पार्टीका नेताहरू जुनसुकै जिल्ला र गाउँमा जाँदा उनीहरूको सुरक्षा व्यवस्था जनताले नै मिलाउने, कार्यकर्ताहरूको बलियो सुरक्षा घेराभित्र नेताहरू आफ्नो दलको विचार र सिद्धान्त यति प्रखर रूपले प्रवाह गर्दथे न त्यहाँ चुच्चे रेलको कुरा आउँथ्यो न मान्छेले बोटविरुवालाई अक्सिजन प्रवाह गने ढाँट कुरा आउँथ्यो । त्यहाँ आ–आफ्नो दलका सिद्धान्तको चिरफार हुन्थ्यो, आ–आफ्ना दलका नीति तथा कार्यक्रमलाई सविस्तार जनतासमक्ष राखिन्थ्यो र नीति सिद्धान्त र कार्यक्रममार्फत जनता आकर्षित गर्ने रणनीति अवलम्बन गर्दथे । त्यसरी कुनै पनि दलमा आवद्ध भएमा जनताहरूले दिगो रूपमा साथ दिन्थे । त्यही सम्बन्धले जनता र नेता, जनता र राजनीतिक दलबीचको सम्बन्ध प्रगाढ बनेको थियो । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र मदन भण्डारीहरूको विगत देखेका र आफ्नो पनि विगत बुझेका अहिलेका नेताहरूप्रतिको वर्तमान अवस्था कति कमजोर बनेको छ स्वमूल्यांकन गर्नु आवश्यक छ ।
सडकमा गणतन्त्र मुर्दावादका नारा त्यसै लागेका होइनन् । राजनीतिक दलहरूको स्वेच्छाचारी प्रवृत्ति हावी बन्दै जाँदा जनतामा बढेको निराशाको अभिव्यक्ति हो । सडकमा नारा लगाउने जति सबै राजावादी हुन भन्ने अनुमान लगाएर स्वेच्छाचारिता र अहंकार बढ्दै गयो भने त्यसको मूल्य महंगो सावित हुनेछ । द्वन्द्वात्मक भौतिकवादी मान्यताबाट दीक्षित वर्तमान सरकार र सरकार सञ्चालित दलले के कुरा बुझ्नु जरुरी छ भने एउटा सिंगो बस्ती ढडेलोले सखाप हुनका लागि केवल एउटै झिल्को काफी हुन्छ ।




