काठमाडौं । एमाले कार्यदलको बैठक साढे पाँच घन्टादेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी छ । आजै एमाले अध्यक्ष केपी ओली र माधवकुमार नेपालबीच १० बुँदे सहमतिमा हस्ताक्षर गराउने कार्यदलको तयारी भए पनि अझै कुनै निष्कर्ष निस्किएको छैन ।
खासगरी वरिष्ठ नेता नेपालले आइतबार बिहान आफू पक्षीय कार्यदलका सदस्यहरूलाई अदालतमा विचाराधीन मुद्दाबारे केही उल्लेख नगर्न भन्दै निर्देशन दिएपछि कार्यदल टुंगोमा पुग्न नसकेको हो । नेपालले अदालतको फैसलालाई प्रभावित पार्ने गरी आफूले कुनै सम्झौता नगर्ने प्रष्ट अडान राखेपछि कार्यदलको बैठक पाँच घन्टादेखि जारी छ ।
आजको बैठकले भाषा परिमार्जन गरेर सहमतिलाई अन्तिम रुप दिने कार्यदलका एक सदस्यले बताए । स्रोतका अनुसार अदालतको फैसलालाई प्रभाव पार्ने भाषा हटाउने र ओलीकै बराबरी अधिकार हुने गरी दुईपक्षीय शक्ति बाँडफाँडमा कुरा नमिल्दासम्म नेता नेपाल हस्ताक्षर गरिहाल्ने पक्षमा छैनन् ।
बिहानको छलफलमा पनि नेता नेपालले त्यही बटमलाइन सुनाएपछि अहिले सिंहदरबारमा बसिरहेको कार्यदल वैठक त्यसैमा केन्द्रित भएको बताइएको छ । नेपाल पक्षका अधिकांश नेता अध्यक्ष ओलीले विगतमा पटकपटक धोका दिएकाले हतारमा सहमति गर्न नहुने पक्षमा छन् । सहमतिपछि पनि ओलीबाट हिजोजस्तै धोका हुँदैन भन्ने कुराको ग्यारेन्टी खोजिएको एक नेताले बताए । त्यसका लागि ओली र नेपालकै तहमा छलफल हुनुपर्ने र विधान संशोधन गरी दुई अध्यक्ष राखेर कुनै पनि निर्णय गर्दा दुवै अध्यक्षको हस्ताक्षर अनिवार्य गर्नुपर्ने उनको भनाइ छ । ओली भने नेपाल पक्षको उक्त मागमा सहमत छैनन् ।
उता, नेपाललाई गलाउन ओलीले भीम रावललाई कार्यबाहक अध्यक्षको आश्वासन दिएको बुझिएको छ । केही दिनअघि बालुवाटार बोलाएर ओलीले रावललाई पार्टीमा एकता कायम राख्न प्रयास गर्न र नेपाललाई छाडेर आफूलाई साथ दिए कार्यबाहक अध्यक्षको हैसियत दिने आश्वासन दिएको स्रोतले बतायो । माधव नेपाल समूहमा बिग्रह ल्याउन ओलीले यस्तो तुरुप फालेको बताइन्छ ।




