काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति तोकिएसँगै ललितपुरमा सभापतिका दाबेदारको संख्या बढ्न थालेको छ । राजधानीको जिल्ला भएर पनि ललितपुर कांग्रेसमा केन्द्रीय नेताको खडेरी परेको छ ।
ललितपुरमा यसपटक मदन अमात्य सभापतिमा उठ्ने छैनन् । उनले दोस्रो कार्यकाल पूरा गरिसकेका छन् । कांग्रेस विधानमा दुई कार्यकालभन्दा बढी सभापतिमा उठ्न रोक लगाइएको छ । त्यसैले यसपटक ललितपुरमा नयाँ सभापति आउने निश्चित छ ।
ललितपुर कांग्रेस सभापतिमा यसपटक मीनकृष्ण महर्जन, रामकृष्ण चित्रकार, गजेन्द्र महर्जन, प्रकाशनन्दन जोशी, प्रेमकृष्ण महर्जन, जितेन्द्रकुमार श्रेष्ठ, मथुराप्रसाद घिमिरे र खोमप्रसाद घिमिरे आकांक्षी छन् ।
यसपटक मिनकृष्ण महर्जन, गजेन्द्र महर्जन र रामकृष्ण चित्रकारमध्ये एकजना ललितपुर कांग्रेसका सभापति निर्वाचित हुने कार्यकर्ताहरू बताउँछन् । वर्तमान सभापति अमात्य गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनलाई अगाडि सार्ने मनस्थितिमा छन् । तर, अघिल्लोपटक मदन अमात्यलाई सभापतिमा सहयोग गरेका चित्रकारले यसपटक आफूलाई सभापतिमा सहयोग हुने अपेक्षा गरेका छन् । मिनकृष्णलाई उदयशमशेर राणालगायतको समर्थन रहेको बताइन्छ ।
देउवाइतर समूहबाट श्रेष्ठ, घिमिरेद्वय छन् । कोइराला परिवारसँग नजिक घिमिरे १०औँ र १२औँ महाधिवेशनमा सभापतिका प्रत्यासी थिए । अर्का खुमप्रसाद घिमिरे भने क्षेत्र नम्बर १ का पूर्वक्षेत्रीय सभापति हुन् ।




