काठमाडौं । एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको छ । माधव नेपाल पक्षका कार्यदलका सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल, गोकर्ण विष्ट आएपछि १० बजेदेखि बैठक सुरु भएको हो ।
कार्यदलका ओली पक्षका सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाललगायतका सदस्य भने आइतबार बिहान ७ बजेदेखि नै सिंहदरबारमा पुगेका थिए । उनीहरू पुगेका तीन घन्टापछि माधव पक्षका सदस्यहरू वार्तास्थल पुगेका हुन् ।
कार्यदल बैठक बस्नुअघि माधव पक्षीय नेताहरू कोटेश्वरमा भेला भएका थिए । कार्यदलका सदस्यहरूलाई नेता माधव नेपालले अदालतलाई प्रभाव पार्ने हिसाबले सहमतिमा हस्ताक्षर नगर्न निर्देशन दिएको स्रोतले बतायो ।
प्रधानमन्त्री केपी ओली जसरी पनि सर्वोच्च अदालतको फैसला आउनुअघि एमाले एकढिक्का छ भन्ने सन्देश दिन चाहन्छन् । त्यसैले उनले माधव पक्षलाई अलमल्याउन खोजिरहेका छन् । तर, यसपटक माधव नेपालले त्यत्तिकै नझुक्ने अडान राखेका छन् । स्रोतका अनुसार उनी ओलीकै हैसियतमा हस्ताक्षर हुनुपर्ने गरी मस्यौदा तयार पार्नुपर्ने पक्षमा छन् ।




