राजनीति

विपक्षी गठबन्धन जोगाउन प्रचण्ड सक्रिय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विपक्षी गठबन्धन जोगाउन सक्रियता देखाएका छन् । उनले आज नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

नेकपा एमालेको कार्यदलमा सहमति हुन लागेको खबर आइरहँदा प्रचण्डले आज नेता नेपालसँग उनकै निवास कोटेश्वर पुगेर भेटवार्ता गरेका हुन् । भेटमा प्रचण्डले एमाले एकताको विषयमा चासो राखेको बुझिएको छ ।

प्रचण्डसँग नेपालले आफू सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी कुनै सम्झौता नगर्ने आश्वासन दिएको बताइएको छ । प्रचण्डको सचिवालयले भने नेपालको स्वास्थ्य अवस्था बुझ्न कोटेश्वर पुगेको दाबी गरेको छ ।

नेपाललाई भेटेलगत्तै प्रचण्डले बुढानीलकण्ठतिर हानिएका थिए । त्यहाँ उनले कांग्रेस सभापति देउवासँग भेट गरेका थिए । दुई नेताको भेटमा संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको संभावित फैसला र एमालेमा चलिरहेको एकता प्रयास लगायतका बिषयमा कुराकानी भएको बताइएको छ ।

सर्वोच्च अदालते पर्सी २८ गतेका लागि मुद्दाको पेसी तोकेको छ । दुइ नेताबीच एमालेमा सहमति बने विपक्षी गठबन्धनमा त्यसले पार्ने प्रभावबारे समेत कुराकानी भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *