राजनीति

माओवादी केन्द्रले भन्यो– बेसरोकार व्यक्तिले दल दर्ता खारेजको निवेदन दिनु हास्यास्पद

काठमाडौं । एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्र खारेज गरियोस् भनी निर्वाचन आयोगमा दर्ता गराएको निवेदनलाई पार्टीको बदनाम गर्न खोजिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले गएका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरिशंकर चौधरीसहितका नेताको अगुवाइमा सिन्धुली घर भएका अधिवक्ता सरोज बुढाथोकीले निर्वाचन आयोगमा ‘माओवादी केन्द्रको दल दर्ता खारेज गरियोस्’ भनी निवेदन दिएका थिए । नौ वर्षदेखि माओवादी केन्द्र महाधिवेशन नगरी सञ्चालन हुँदै आएकाले दल दर्ता खारेजको माग गरिएको थियो ।

शुक्रबार मणि थापा, प्रभु साहलगायतका नेताहरू सो निवेदनको कारबाही प्रक्रिया कहाँ पुग्यो भनेर जानकारी लिन आयोग पुगेका थिए । माओवादी केन्द्रले शुक्रबार नै बेसरोकार भएका व्यक्तिले यसरी अमूक दलको दर्ता खारेज गरियोस् भनी निवेदन दिँदा त्यसलाई आयोगले गम्भीरतापूर्वक लिन नहुने भन्दै आपत्ति जनाएको छ ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा यस्तो भ्रममा नपर्न समस्त पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *