काठमाडौं । जबदेखि एमाले विवादका लागि गठित कार्यदल सक्रिय हुन थाल्यो, तबदेखि विपक्षी गठबन्धनको बैठक बस्न सकेको छैन । त्यसअघि दुई–तीन दिन बिराएर कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राजमोसहितको विपक्षी गठबन्धनको बैठक बस्ने गरेको थियो । तर, झन्डै दुई सातायता विपक्षी गठबन्धन मौन छन् ।
विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा हालेको मुद्दा प्रभावित पार्न एमालेको केपी ओली पक्षले माधव नेपाल समूहलाई अल्मल्याउने नीति लिएपछि विपक्षी गठबन्धन सकसमा परेको छ । केही दिनयता माधव नेपाल विपक्षी गठबन्धनको बैठकमा सहभागीसमेत हुन छाडेका छन् ।
नेता नेपाल र एमाले अध्यक्ष केपी ओलीबीच बुधबार मात्रै मेरियट होटलमा साढे दुई घन्टा भेटवार्ता भएको थियो । तर, समाधान निस्कन सकेको छैन ।
ओली र नेपालबीच औपचारिक अनौपचारिक कुराकानी भइरहँदा बृहत् कम्युनिस्ट एकताको आवाज उठ्न थालेको छ । नेता नेपालले प्रचण्डसहित ‘बृहत कम्युनिष्ट एकता’ का लागि माधव नेपालद्वारा प्रधानमन्त्री ओलीसँग प्रस्ताव राखेको बुझिएको छ । तर, ओलीले अझै ग्रिन सिग्नल दिएका छैनन् । यदि बृहत् कम्युनिस्ट एकताले आफ्नो कुर्सी थमौती हुने अवस्था आए ओली त्यो हदसम्म पुग्ने मनस्थितिमा पुग्ने बताइएको छ । त्यही भएर केही दिनयता ओली प्रचण्डप्रति आक्रामक देखिन छाडेका छन् ।
एमालेको किचलो देखाएर प्रचण्ड र माधव नेपालले नेपाली कांग्रेसलाई धोका दिने संकेत देखिएको छ । स्रोतका अनुसार अदालतको फैसलापछि माधव नेपाललाई प्रधानमन्त्री बनाएर अघि बढौ, जसरी पनि ओलीलाई हटाउँ, ७–८ महिनापछि तपाई प्रधानमन्त्री बन्नुहोला भन्दै प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष हारगुहार गर्न थालेका छन् । उता, माधव नेपाल भने तत्काल गठबन्धनको बैठकमा पनि नगई दुबै पक्षसँग बार्गेनिङमा लागेका छन् ।
ओलीलाई प्रतिगमनकारी देखाएर कांग्रेसलाई बदनाम गराउने र सत्ता कब्जा गर्ने प्रचण्डको रणनीतिलाई सफल पार्न कांग्रेसभित्रैका केही नेताको खेललाई सभापति देउवाले बुझ्न नसक्दा फेरि पनि कांग्रेसले धोका पाउने देखिएको छ ।




