काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बिहिबारको बैठक पनि कुनै प्रगतिविनै सकिएको छ । बिहिबार साँझसम्म वार्ता सफल भई दुई पक्ष एकताबद्ध हुने दाबी केपी शर्मा ओली पक्षले गरेपनि ठोस निष्कर्षमा पुग्न सकेको छैन ।
उता, नेकपा एमालेका नेता तथा कार्यदलका सदस्य घनश्याम भुसालले १० दिनदेखि वार्तामा कुनै प्रगति हुन नसकेको खुलासा गरेका छन् । बिहीबार साँझको कार्यदल बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले निरन्तर छलफल भएपनि ठोस उपलब्धि हुन नसकेको बताए ।
नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले भने शुक्रबार बस्ने कार्यदलको बैठकमा पार्टीभित्रका विवादित विषय सहमतिका साथ टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो । अध्यक्ष ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसद्ले हस्ताक्षर फिर्ता लिन आग्रह गर्नुभएको छ भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।




