काठमाडौं । बोल्दा प्याच्च नबोल्नु, बस्दा थ्याच्च नबस्नु भन्ने नेपाली उखान निकै चल्तीमा छ । प्याच्च बोल्दा भोलि आफैंलाई क्षति हुन्छ भन्ने बुझेरै पुर्खाहरूले यस्तो लोकोक्ति चलाएका हुन सक्छन् ।
यो उखान अहिले एमाले अध्यक्ष केपी ओलीमा ठ्याक्कै लागू भएको छ । केही दिन अगाडि ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रचण्डको मामुली कार्यकर्ता भनेर आरोप लगाएका थिए । नेता नेपालकै कारण आफ्नो कुर्सी दाउमा लागेपछि ओली नेपालसँग क्रुद्ध बनेका थिए ।
कतिसम्म भने आफूले माधव नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको भनेर आफैंले हल्ला चलाएको भन्दै ‘माधव नेपाललाई केपी ओलीले प्रधानमन्त्रीमा प्रस्ताव गर्न के मलाई बहुलाहा कुकुरले टोकेको छ र’ भनेका थिए ।
तर, अहिले आफूले प्रचण्डको मामुली कार्यकर्ता भनेको माधव नेपाललाई भेट्न पाँच तारे होटेल मेरियट पुगे । बुधबार राति साढे दुई घन्टासम्म ओलीले नेपाललाई वन टु वनका साथै पार्टीका दोस्रो तहका नेताहरूसँग वार्ता गरेका थिए ।
विपक्षी गठबन्धनमा लागेर नेता नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खोजेको भन्दै ओली निकै आक्रोशित भएका छन् । कतिसम्म भने ओलीले नेपाललाई पार्टीबाट समेत निकालेका थिए । तर, अहिले उनी एमालेलाई नवौं महाधिवेशनले निर्वाचित गरेको कमिटीलाई मान्यता दिन बाध्य भएका छन् । नेपाललाई पेल्दापेल्दै आफ्नै कुर्सी धरापमा परेपछि ओली निहुरिएर उनलाई भेट्न मेरियट होटेल पुगेका हुन् ।




