काठमाडौं । आरालो लागेको मृगलाई बाछाले पनि खेद्छ भनेझै गम्भीर दुरदशा चलिरहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) को दर्ता नै खारेज गर्न एकथरि पूर्वमाओवादीहरु कम्मर कसेर लागेका छन् । उनीहरुले माओवादी केन्द्र अवैधानिक छ, यसको दर्ता खारेज गरी पाउँ भन्ने दलिलसहित आज निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।
संविधान र प्रचलित कानून अनुसार माओवादी केन्द्रले बैधानिकता गुमाइसकेको भन्दै अधिवक्ता सरोज बुढाथोकीले माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा निवेदन दर्ता गराएका हुन् । उक्त दलले २०६९ सालदेखि कुनै महाअधिवेशन नगरेको र राजनीतिक दल सम्वन्धी ऐन २०७३ अनुसार आयोगलाई बुझाउनु पर्ने विवरणहरु प्रतिवेदन नबुझाएकाले संविधान वा संघीय कानून बमोजिम दल दर्ता कायम रहन नसक्ने निवेदकको जिकिर छ ।
माओवादी केन्द्र खारेजीको माग गर्दै निवेदकले गरेको दावीमा आयोगले अध्ययन गरी थप कागजात आवश्यक भएमा माग्ने र अध्ययनपछि मात्र कारवाही हुने नहुने विषय टुङ्गो लाग्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
कानुनसम्मत ढंगले पार्टी सञ्चालन नभएको स्पष्ट देखिन्छ । आयोगले माग गरेको कागजात पूरा गरे माओवादी केन्द्रको दर्ता खारेज हुन्छ ? यो प्रश्नको जवाफ खोज्न थप केही दिन पर्खिनुपर्ने हुन्छ ।




