काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल जनकपुरबाट अत्तालिएर फर्केपछि सिधै माधव नेपालको निवास कोटेश्वर पुगे । पछिल्लो राजनीतिक घटनाले नयाँ कोर्ष लिन लागेको बुझेपछि अध्यक्ष दाहाल सिधै नेपाल निवास कोटेश्वर हानिएका हुन् ।
गठबन्धन दलले बोलाएको बैठकसमेत वरिष्ठ नेता नेपाल जान छाडेपछि एमालेभित्र राजनीतिले नयाँ कोर्ष लिन लागेको अड्कल काट्न थालिएको हो ।
एमाले पार्टी एकताका लागि गठित कार्यदलको यतिबेला सिंहदरबारमा बैठक बसिरहेको छ । बैठकले एमाले नयाँ निर्णयमा पुग्दैछ । सम्भवतः वरिष्ठ नेता माधवकुमार नेपाललाई चित्त बुझाएर मात्र होइन, सर्प पनि मर्ने र लठी पनि नबाँचिने कार्यदलको बैठकले निकाल्ने खोजेको बुझिएको छ ।
एमाले विवादको मिलनविन्दू खोज्नकै लागि सर्वोच्च अदालतले संसद विघटनविरुद्धको रिटको फैसला एक साता पछि सारेको छ । फैसला के आउँछ भन्ने कुरा लगभग सबैलाई अनुमान लगाएको विषय भएकाले त्यहीअनुरुप राजनीतिक कोर्ष अघि बढाउन एमाले कार्यदल लागेको बुझिन्छ ।
वरिष्ठ नेता नेपाललाई मनाउन समय प्रशस्त भएकाले आजैको बैठकबाट कार्यदलले निष्कर्ष निकाल्दैन भन्ने कुरामा सबै ढुक्क छन् । अझ धेरै कसरत गर्नुपर्ने भएकाले बैठक थप दुई चार दिन लम्बिन सक्ने बताइएको छ ।




