देश

कोरोनाको मारमा कुमारी हल, ३७ वर्षे इतिहास बोकेको हल सदाका लागि बन्द

काठमाडौं । डेढ वर्षदेखिको कोरोना भाइरस महामारीले हरेक क्षेत्रमा प्रभाव पारेको छ । त्यसमध्ये पनि मनोरञ्जन क्षेत्र त उठ्नै नसक्ने गरी थला परेको छ ।

अन्य देशको तुलनामा नेपाली मनोरञ्जन क्षेत्र पूर्ववत् अवस्थामा फर्किन पाँच वर्ष लाग्ने देखिएको छ । कलाकारहरूले आफ्नो पेसा छाड्दै गएका छन् भने डेढ वर्षदेखि सिनेमा हल बन्दका अवस्थामा छन् । जसकारण अर्बौंंको लगानी खेर गएको छ ।

यसैक्रममा ३७ वर्षको इतिहास बोकेको कुमारी सिनेमा हल सदाका लागि बन्द हुने भएको छ । क्यूएफएक्स चेनको कमलपोखरीमा रहेको दुई अडिटोरियमको कुमारी हल पनि सधैंका लागि बन्द भएको हो।

कोरोनाका कारण बन्द गरिएको हलको भवन अब अन्य प्रयोजनका लागि प्रयोग गरिनेछ । कोरोनाले गर्दा हलले खर्च धान्न नसक्ने भएपछि हल बन्द गर्न बाध्य भएको सञ्चालकहरुको भनाइ छ । शनिबारदेखि हलभित्र रहेका सबै सामान हटाउन थालिएको छ ।

कुमारी हलबाट निर्माताहरुले ठूलो मात्रामा सेयर पाउने गरेका थिए । फिल्मको च्यारिटी, प्रिमियर शो, प्रेस मिट, फिल्म महोत्सवलगायतका लागि पनि कुमारी हल अत्यधिक प्रयोग हुने गर्थ्यो ।

कोरोनाका कारण अहिलेसम्म देशभरका ३०–४० वटा हल बन्द भइसकेका छन् । करिब १० महिना बन्द भएर पुसको अन्तिम साता ५० प्रतिशत ‘अकुपेन्सी’मा खुलेका सिनेमा हल कोरोनाको दोश्रो लहरका कारण पुनः बन्द भएको हो । सिनेमा हल सञ्चालकहरूले राखेका मागबारे सरकार उदासीन भएकाले अब हल बन्द गर्नुको विकल्प नभएको उनीहरूको भनाइ छ । महामारीबाट बच्न राज्यबाट नीतिगत सुधार, सहुलियत र साथ नपाए आगामी दिनमा यो संख्या अझै बढ्न सक्ने सम्भावना छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *