राजनीति

जसपा विवाद : आज निर्वाचन आयोग जाँदै महन्थ र उपेन्द्र पक्ष

काठमाडौं । जनता समाजवादी पार्टीमा देखिएको विवाद मिलाउन निर्वाचन आयोगले दुवै पक्षलाई आज बोलाएको छ । जसपाको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले आ–आफ्नो आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएपछि त्यसबारे छलफल गर्न आज बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । यादव पक्षको निवेदनपछि आयोगले महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । महन्थ पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई बोलाएको हो ।

आजको छलफलमा आयोगका प्रमुख आयुक्त, आयुक्त, आयोगका केही कर्मचारी, दुवै पक्षका नेताहरु र कानुन व्यवसायी रहनेछन् । दुई पक्षबीच आपसी समझादरी कायम भए सोहीअनुसार निर्णय हुने र सहमति नभए इजलास गठन प्रक्रियाबाट अघि बढ्ने छन् ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पक्ष–विपक्षमा विभाजित भएको जसपाको यादव र डा. बाबुराम भट्टराई पक्ष विरोधमा उत्रिएको थियो । ठाकुर र महतो समूह पक्षमा थियो । ठाकुर पक्ष ओली सरकारमा सहभागी पनि भएको थियो । तर, सर्वोच्च अदालतले कामचलाउ सरकारका प्रधानमन्त्रीलाई सरकार पुनर्गठनको अधिकार नहुने भन्दै फैसला गरेपछि जसपाका मन्त्रीहरु स्वतः पदमुक्त भएका थिए ।

जसपामा अब उपेन्द्र र महन्थ पक्ष सँगसँगै अघि बढ्न नसक्ने अवस्थामा पुगेका छन् । ठाकुर पक्षले पूर्वराजपा ब्यूताउने प्रयास गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *