काठमाडौं । रामबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचनमा पराजय भोगेपछि एमाले अध्यक्ष केपी ओलीले कार्यदलको बैठक बस्न नदिई निष्क्रिय बनाएका थिए। जेठ ७ मा बस्ने भनिएको कार्यदल बैठक त्यसपछि बस्न सकेको थिएन।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन र कार्यदलमा रहेका भीम रावललगायतलाई कारबाही गरेपछि औपचारिक संवाद टुटेको थियो। कार्यदललाई सोमबारदेखि सक्रिय बनाइएको छ ।
एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दै छ । सिंहदरबारमा सोमबार साँझ सम्पन्न बैठक आज दिउँसो १ बजे पुनः बस्ने गरी टुंगिएको हो ।
हिजोको बैठकमा पार्टी विवाद समाधानबारे छलफल भएको नेपाल समूहका संयोजक भीम रावलको भनाइ छ । उनका अनुसार आजदेखि पार्टी मिलाउने प्रयास हुनेछ ।
कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल र नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त सदस्य छन् ।
गत जेठ २ गते अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो । एमालेको आन्तरिक विवाद समाधानका लागि ओली र वरिष्ठ नेता नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार भएको छ।
कार्यदलले मस्यौदा तयार गरी दुवै नेताहरूलाई इमेलमा पठाएको हो। सोमबार साँझ सिंहदरबारमा बसेको कार्यदलको बैठकले पार्टीको विवाद सकिएको र पार्टी एकढिक्का भएको सन्देश दिन दुई नेताको संयुक्त वक्तव्य आउनुपर्ने अपरिहार्यतालाई महसुस गर्दै त्यसको मस्यौदा दुवै नेतालाई इमेल गरिएको हो।




