काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार बहस सकिएको छ । असार २८ गते फैसला आउने भएको छ । संवैधानिक इजलासमा एमिकस क्युरीले राय दिएसँगै सोमबारबाट सुनुवाइ सकिएको छ । इजलासले यो मुद्दाको फैसला असार २८ गते आउने जानकारी दिएको हो । असार ९ देखि शुरु भएको बहस असार २१ मा सकिएको हो ।
सोमबार रिट निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस गरे भने एमिकस क्युरीका रुपमा चयन भएका राघवलाल वैद्य, उषा मल्ल पाठक, कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीले राय दिएका थिए ।
प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गर्दै धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश माग गरेका छन् ।
उक्त रिटमाथि प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भएको थियो ।




