काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
पहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता गर्ने कार्यतालिका तयार भएको छ । असोज २० गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्नेछ । असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ ।
त्यस्तै, दोस्रो चरणका लागि असोज ३१ गते उम्मेदवारी मनोनय दर्ता गर्ने र कात्तिक ५ गते उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको जनाएको छ ।
सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बेला निर्वाचन आयोगले भने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा विघटनको मुद्दामा रिट निवेदकको तर्फबाट जवाफी बहस आज सकिएको छ। सुनुवाइ अन्तिम चरणमा पुगेको र अबको केही दिनमा फैसला आउने छ ।
केपी ओली नेतृत्वको सरकारले जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो ।












