काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संस्थापन केपी ओली पक्षले दिएको निर्देशन अस्वीकार गरेको छ । एमाले केन्द्रीय कमिटीले सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो । सोही विषयमा आइतबार बिहान ओली पक्षका विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेपाल निवास कोटेश्वर पुगेका थिए ।
उनीहरूले नेता नेपाललाई प्रधानमन्त्री ओलीसँँग वार्ता गर्न सुझाव दिएका थिए । तर, उनले कुनै प्रतिक्रिया नजनाएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङ नेम्वाङले जानकारी दिए । नेपालले वार्तामा रहेका अन्य नेताहरुसँग सल्लाह गरेर खबर गर्ने बताएपछि तीनै नेता फर्केका थिए । भेटवार्तामा नेपाल पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्य पनि सहभागी थिए ।
ओलीलाई प्रधानमन्त्रीबाट हटाएरै छाड्ने अडानका साथ अघि बढेका नेता नेपालले पछि नहट्ने संकेत गरेका छन् । उनलाई ब्याक गराउन चौतर्फी दबाब सिर्जना गरिए पनि ओली सफल हुन सकेका छैनन् । नेपालले बरु राजनीतिबाट सन्यास लिने पछि नहट्ने अडान लिए । उनले कुनै हालतमा आफूसहित २३ सांसदको कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरबाट पछि नहट्ने जवाफ दिएका छन् ।
ओलीले केन्द्रीय कमिटी बैठकबाट सोमबार साँझ ५ बजेसम्म २३ सांसदको हस्ताक्षर फिर्ताको अल्टिमेटम दिए पनि नेपालले पछि नहट्ने स्पष्ट पारेका छन् । यसले पनि अब एमालेभित्र वार कि पारको अवस्था बनेको छ । सोमबार ओलीले कठोर निर्णय लिन सक्छन् । त्यसपछि एमाले फुट्ने अवस्था बन्ने देखिएको छ ।




