काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पार्टीका सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन दिएको समय आज सकिँदै छ । एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले सोमबार साँझ ५ बजेसम्मको समयसीमा दिएको थियो ।
तर, माधवकुमार नेपाल पक्षले हस्ताक्षर फिर्ता लिनु मृत्युपत्रमा हस्ताक्षर गरेसरह हुने भन्दै फिर्ता नलिने जवाफ फर्काएको छ । पार्टीले दिएको समय घर्किनै लाग्दा एमाले नेताहरू माधवकुमार नेपाललाई फकाउन कुदाकुद गरेका छन् ।
आइतबार बिहान अर्थमन्त्री एवं एमाले उपमहासचिव विष्णु पौडेललगायतका नेताहरु नेपाल निवास कोटेश्वर पुगेका छन् । पार्टी विवाद मिलाउने प्रयासस्वरुप पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य शंकर पोखरेल कोटेश्वर पुगेका हुन् ।
पार्टी बिवाद समाधानको प्रयास स्वरुप एमालेका दोस्रो तहका नेताहरुबीच शनिवार दिनभर कुराकानी भएको थियो ।उपमहासचिव घनश्याम भुसालको पहलमा ओली र माधव नेपालबीच टेलिफोन कुराकानी भएको थियो । शनिबारको केन्द्रीय कमिटी बैठकमा ओलीले सर्वोच्च अदालतको फैसला आउनुअघि नै हस्ताक्षर फिर्ता नलिए हस्ताक्षर गर्नेहरु पार्टी सदस्य नरहने बताएका थिए ।




