काठमाडौं । महाधिवेशन सम्पन्न गर्नुको विकल्प नभएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तयारीमा जुट्न निर्देशन दिएका छन् । आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा पार्टीका शीर्ष नेताहरुसँग शनिबार बिहान भएको छलफलमा सभापति देउवाले यस्तो निर्देशन दिएका हुन् ।
सभापति देउवाले निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्नुको विकल्प नभएले क्रियाशील सदस्यता चाडो टुंग्याउन निर्देशन दिएका थिए । देउवाले महाधिवेशनका आन्तरिक तयारीमा पनि जोड दिन र जित्ने गरी तयारीमा जुट्न नेताहरुलाई निर्देशन दिएका छन् ।
छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता एनपी साउद लगायत र छानविन समिति संयोजक रमेश लेखकसहित सदस्यहरु आनन्द ढुंगाना, श्याम घिमिरे र योगेन्द्र चौधरी पनि छलफलमा सहभागी थिए ।
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले क्रियाशील सदस्यमा देखिएको विवाद समाधानका लागि सहमति जुटाएपछि देउवाले छानविन समितिका सदस्यसहितको छलफल राखेका हुन् । छलफल छानविन समितिका सदस्यहरुले सम्बन्धित क्षेत्रको क्रियाशील सदस्यताका देखिएको समस्याबारे बिफ्रिङ गरे ।




