प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका आजका गतिविधिले निकट भविष्यमा देशले आशा र भरोसा गर्ने नेतृत्व प्राप्त गर्छ भन्ने विश्वास गर्न नसक्ने स्थिति देखिन्छ । आवश्यक ठानिएको र महसुस गरिएको समयमा नेतृत्वको अपेक्षा राखिन्छ । संकटको समयमा मुलुकले उपयुक्त र दुरदर्शी नेतृत्व प्राप्त गर्न सकेन भने त्यो देश समस्याग्रस्त नै रहन्छ । जनताले निर्वाचनद्वारा निर्वाचित गर्दैमा समाधान आउँदैन । त्यसका लागि देशको संविधान, व्यवस्था र राजनीतिक मूल्य अनि मान्यतालाई आत्मसाथ गरी इमान्दारिताका साथ प्रस्तुत हुन सक्नुपर्छ । आफूले गरेको प्रतिबद्धताहरु प्रति इमान्दार बन्न नसक्नेहरुसँग अपेक्षा नै के राख्नु र ? तर पनि न्यूनतम जिम्मेवारी पनि पूरा गर्न नचाहने वा नसक्ने राजनीतिक नेतृत्वको शैली र व्यवहार आलोचनायोग्य पनि हुँदैन, तथापि विसंगतिपूर्ण अवस्थाप्रति बेखबर भएर बस्न सकिँदैन ।
अत्यासलाग्दो महामारीमा समेत सत्ता राजनीतिको फोहोरी खेलमा रमाउने राजनीतिक नेतृत्वको कारण व्यवस्थामाथि नै प्रश्न चिह्न लागेको छ । दोषी व्यवस्था होइन, व्यक्ति हो, प्रवृत्ति हो । जुन प्रकृतिलाई तलदेखि माथिसम्म समाप्त गरिएको छ, त्यसले शुद्धता आउँछ भन्ने आशा नै गर्न सकिँदैन, समाजमा रहेका सबैभन्दा खराब पात्रलाई राजनीतिको नशा लागेको छ । उनीहरु निर्णायक भएका छन् । साधनस्रोतमाथि कब्जा जमाएर पार्टी वा सत्ताको सम्पूर्ण बागडोर त्यस्तै प्रवृत्तिको जिम्मा जाँदैछ । नेतृत्व आआफ्नो स्वार्थका खातिर त्यस्तै प्रकृतिलाई स्थापित गर्दैछ । कम्युनिष्टको नाउमा बनेको सरकार सबै दृष्टिकोणले नाफामुखी राजनीतिमा चलिरहेको छ । कसरी पार्टी र सरकार कब्जा गर्ने भन्ने एकसूत्रीय अभियान देखिन्छ । यसका लागि साधन र श्रोतमाथि आफ्नो एकाधिकार स्थापित हुँदैछ । कुनै नीति, विचार, कार्यक्रम र दायित्व निर्वाचनमा विवाद वा झगडा नभएर लेनदेन, भागवण्डा, बाँडफाँडमा समस्या देखिन्छ । एकता देखि विभाजनसम्मको लेखाजोखा गर्दा संघर्षको विषयवस्तु कसले बढी लुट्ने भन्ने नै छ ।
नेपाली कांगे्रसको अवस्था त्यस्तै छ । देशप्रति इमान्दार मानिस पार्टी राजनीतिबाट पाखा लाग्दै गएका छन् । महाधिवेशनको चर्चा, परिचर्चा हुँदा इमान्दार र सिद्धान्तप्रति प्रतिबद्ध व्यक्ति निर्वाचनको रोजाइमा छैन । कसले मिलाउन र रिझाउ सक्छ, साधन र श्रोत कोसँग छ, कसले लुटेको छ ? को सँग पैसा छ ? त्यस्ता मानिस खोजी खोजी नेतृत्वमा ल्याउन खोजिदैछ । स्थानीय वडादेखि केन्द्रीय तहसम्म त्यस्तै पृष्ठभ्रमिका मानिस सलबलाएका छन् । कति खर्च गर्न सक्छ ? कति जम्मा गरेको छ ? वा कसको लगानीमा को बन्दैछ ? भन्ने छलफल र विचार विमर्श चियापसलमा सुन्न पाइन्छ । जोसँग यथेष्ट साधन र श्रोत छ, उसलाई नै नेताहरुको दरबारमा आमन्त्रण गर्न सुरु गरिएको छ । असहज अवस्था एकातिर र विवादको विद्यमानता अर्कोतिर छँदैछ । बहस र छलफलमा नीति र कार्यक्रम छैन, केवल नेतृत्वको छ । त्यसमा पनि अरोसायोग्य व्यक्तिको अभाव सबैभन्दा बढी खड्किरहेको छ ।
निर्णायक क्षणमा बाह्य शक्ति र तत्वबाट परिचालित हुने राजनीतिक दल र यसको नेतृत्वले के नै सकरात्मक परिणाम दिन सक्छ ?
जनता समाजवादी पार्टीको अवस्था अझ खराब देखिन्छ । प्रधानमन्त्री ओलीलाई समर्थन तथा सहयोग गर्ने पक्ष र विपक्षीमा विभक्त भएपश्चातको विभाजनले अस्तित्वको संकट खडा गरेको छ । मधेश विद्रोह आन्दोलन र असहमति के को लागि भन्ने गम्भीर प्रश्न खडा भएको छ । उनीहरुले पनि देशको वस्तुस्थिति ख्याल गरेको महसुस हुन सकेन । आफ्नो तत्कालको स्वार्थ पूरा हुने भएमा जुनसुकै सम्झौता गर्न तयार हुने प्रवृत्ति देखियो । यो प्रवृत्तिले नै हो नेपाली राजनीति र शासन व्यवस्थालाई बद्नाम गराएको । निर्णायक क्षणमा बाह्य शक्ति र तत्वबाट परिचालित हुने राजनीतिक दल र यसको नेतृत्वले के नै सकरात्मक परिणाम दिन सक्छ ? आफ्नो स्वतन्त्र हैसियत कायम राख्न नसक्ने पराश्रितहरुको पोल्टामा शासन व्यवस्थाको साँचो रहेपछि त्यसले आफ्नो इमान राख्न सक्दैन । मालिकप्रति बफादार बन्ने र उसकै इसारा र स्वार्थमा आफ्नो भूमिका र गतिविधि बढाउने काम नै महत्वपूर्ण हुनेछ । जो कुनै न कुनै किसिमले हुँदै आएको छ । यो क्षणमा अझ तेज गतिका साथ नेपालको आन्तरिक राजनीति कमजोर बनाउने काम भएको छ ।
अदालतबाट सबै समस्याहरुको समाधान खोज्ने क्रमले तीब्रता पाएको छ । संसदबाट समयमा वैकल्पिक सरकार दिन नसक्नेहरु हस्ताक्षरसहित अदालत प्रवेश गरेका छन् । अदालतले प्रधानमन्त्री नियुक्त गरिदिनुपर्ने मागदाबीमाथि पक्ष र विपक्षमा व्यापक बहस भएको छ । संसदले प्रभावकारी भूमिका निर्वाह गरेको भए वा दलहरुले न्यूनतम इमान्दारिता प्रदिर्शत गरेको भए वा नेतृत्वले देश र जनताप्रति जिम्मेवारीबोध गरेको भए यस्तो भयावहको समयमा राजनीतिक अस्थितिा र अन्यौलबाट गुज्रिनु पर्ने थिएन । थोरै पनि राजनीतिक इमान्दारिता देखाउन नसक्नुको परिणाम यस्तै आएको छ । यसको दोष कसलाई दिने ? शासन व्यवस्थालाई कि व्यक्तिको स्वार्थ, कमजोरी र अक्षमतालाई ? निश्चिय नै व्यक्तिको अयोग्यता र बेइमानीको कारण स्थिति खराब भएको हो ।
हाम्रा कारणले स्थिति बिग्रिएको हो, अब यसरी प्रस्तुत हुन्छौं भन्ने विश्वासिलो आधार प्रस्तुत गर्न नसक्नु प्रधानमन्त्रीसँग असन्तुष्ट पाँच भनिएका दलको पनि असफलता र अयोग्यता नै हो । सबैको विगत भोगेको नागरिकले विश्वासिलो आधार फेला पार्न सकेनन् । कोसँग आशा राख्ने ? विश्वास र भरोसा गर्ने भन्ने प्रश्न त्यत्तिकै तेर्सिएको होइन, जुनसुकै विधि, माध्यम वा प्रकृयाबाट संविधान सरकार वा व्यवस्था स्थापित गरे पनि हाम्रो ढंग नभएपछि त्यसले दिने परिणाम निराशाजनक नै हुन्छ । त्यसको ज्वलन्त उदाहरण संविधानसभाले दिएको संविधान, झन्डै दुईतिहाइको कम्युनिष्ट सरकार तथा गणतन्त्रसहितको शासन व्यवस्था बनेको छ ।




