कला/साहित्य

अत्तालिएको छ मान्छे

मृत्यु तर्काउन भयाकुल छ मान्छे
सडकमाथि देखाउन तडकभडक आतुर छ मान्छे
आयु थपाउन उत्तिकै आकुल छ
फुटाएर साँझ बिहान
पसिनाको धारो
सडकपेटी र चौडा मैदानमा
विना हल्ट दौडिन व्याकुल छ ।
अत्तालिएको छ ऊ
जोगाउन आफ्नै जिन्दगी
अभ्यस्त भएको छ योगासनमा
जगाउन आफ्नै दीर्घ जीवन
ध्यानस्थ भएर एकाग्रतामा
बिर्सिएको छ उसले विश्व–ब्रह्माण्ड
त्यसैले खोजिरहेछ ऊ
नितान्त आफ्नै आयु लम्ब्याउने ब्रह्मानन्द
र, जोडिरहेछ उसले उच्चतम परमानन्द ।
स्वादिष्टतामा तलतलाउँदैै
भड्किलो जङ्क फुडमा खुसी बटुलेर
बिटुलिएको छ कोही
अशुद्घ वस्तुभाउ र
विज्ञापित खान्की जोडेर
विवशतामा बाँचिरहेको छ मान्छे ।
अनि
हतारोमा अस्पताल दौडिएको छ
घचारोमा पसल र ज्यासल पुगेको छ
नपाएको सुन्दरतामा पौडिएको छ
दीर्घायुको तीब्र लालसामा
देवालय र तीर्थस्थललाई
आफ्नो गन्तव्य बनाएको छ
जम्लाहात जोडेर
भित्रैदेखि रमाएको छ
ओहो ! कति बिघ्न मान्छे
आफ्नै रहरले
सहर भेट्न आएको छ ।

ब्रह्मनालमा नुहाउँदै गर्ने मृतकलाई भेटेर
आर्यघाटमा जल्दै गर्ने अर्को अत्यास देखेर
अत्तालिएको छ मान्छे
मृत्यु पन्साउने बहानामा
फेरि पनि जीवन सच्याउने सङ्कल्पनामा
आयुको याचना गर्दै
सहरको सभ्यता छिचोल्न हतारिएको छ
बनियार भएर निर्वाह फिसोल्न
आफ्नै जिन्दगानी हतेरेको छ
कठैबरा ! मान्छे ! जिन्दगीको कहर काट्ने क्रममा
तकलिफको तटवर्र्तीमा
अनायास आफलिएको छ ।

० ० ०

पदम दाहाल
मादी न.पा.–०६, संखुवासभा
हालः भक्तपुर, लोकन्थली

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *