काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पछिल्लो समय निकै विवादमा परेका छन् । सरकार र पार्टी सञ्चालनमा आफूखुसी चल्न थालेपछि उनी विवादमा परेका हुन् । स्वेच्छाचारी ढंगले हिँडेकैले एमाले र माओवादी केन्द्रको एकता भंग भयो । छँदाखाँदाको नेकपाको औचित्य समाप्त भयो । प्रतिनिधिसभा दुई दुई पटक विघटन गरियो । झन्डै दुई तिहाइको बहुमत गुमाएर अल्पमतमा झर्नु पर्यो ।
फागुनयता ओलीकै कारण एमाले विवादमा फसेको छ । चार महिनादेखि पार्टीमा देखिएको किचलो सल्टिन सकेको छैन । यसबीचमा उनले आफूविरोधीलाई साइड लगाएका छन् भने दोस्रो र तेस्रो पुस्ताका नेतालाई आफू जस्तै पार्टी विधिविधानमा नहिँड्ने बनाउन, कुतर्क गर्न, गालीगलौज गर्न अभ्यस्त बनाएका छन् ।
एमालेमा सुवासचन्द्र नेम्बाङ, ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवालीलाई पार्टीको नेतृत्व लिन सक्ने दोस्रो पुस्ताको नेता मानिन्थ्यो । तर, यो दुई वर्षमा उनीहरू ओलीकै पथमा हिँडेका छन् । कुतर्क गर्न माहिर देखिएका छन् ।
ओलीलाई साथ दिँदै आएका तेस्रो पुस्ताका विष्णु रिमाल, गोकुल बास्कोटा, महेश बस्नेत, कर्ण थापा पनि त्यही बाटोमा हिँडेका छन् । पार्टीमा अर्को पक्ष पनि छ, उनीहरूको साथ पनि चाहिन्छ भन्ने उनीहरूलाई लागेकै छैन । दोस्रो–तेस्रो पुस्ताका नेतालाई पनि आफूजस्तै बनाउन सक्नु केपी ओलीको सबैभन्दा ठूलो सफलता हो। उनलाई साथ दिँदै आएका दोस्रो तेस्रो पुस्ताका नेताको चुरिफुरी ओली भइञ्जेल मात्र हो । भोलि अर्को पक्षका नेताको हातमा पार्टीको नेतृत्व पुग्यो भने यिनको हैसियत बाहिर बसेर कराउने बाहेक केही नहुने निश्चित छ । न त पार्टी कार्यसमितिमा आउन सक्छन्, न त सांसदको टिकट नै पाउन सक्छन् ।
पोखरेलमाथि माधव नेपाल पक्षसँगको सम्भावित एकता भाँडेको आरोप लागेको छ । अर्कोतर्फ संसद विघटन हुँदा दुई जिव्रे कुरा गरेको र ओलीलाई कानुनी र संवैधानिक हिसाबले कमजोर बनाउन उद्यत रहेको आरोप नेम्वाङमाथि लागेको छ ।
ओलीले उत्तराधिकारीका रूपमा नेम्वाङलाई सार्ने चर्चाबीच उनलाई रोक्न महासचिब पोखरेल कम्मर कसेर लागेका छन् । राजनीतिक रूपमा केपी ओलीकै समकक्षी रहेका पोखरेलले योगदानको कदर गर्नुपर्ने विषयमा जोड दिन थालेका छन् ।
शंकर पोखरेल आफै ओलीपछिको नेताका रूपमा आफूलाई प्रस्तुत गरिरहेका छन् । त्यसमाथि ओली गुटमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रभाव बढी भएको र उनीहरूले पार्टीमै अर्काको अस्तित्व नस्वीकार्ने गरेको देखिएको छ ।




