राजनीति

पौडेल समूह शशांक निवासमाः तीन नेताको बैठकप्रति पौडेल असन्तुष्ट

काठमाडौं । क्रियाशील सदस्यता विवादबारे छलफल गर्न भनेर नेपाली कांग्रेसको संस्थापन इतर पक्ष महामन्त्री शशांक कोइराला निवासमा भेला भयो । तर तीन नेतापुत्र प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइरालाको चरणबद्ध छलफलप्रति वरिष्ठ नेता रामचन्द्र पौडेलले तीतो पोखेपछि छलफल अन्तै मोडियो ।

बैठकमा नेता पौडेल र महामन्त्री कोइरालासहित नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाल, डा. शेखर कोइरालालगायत सहभागी छन् ।

संस्थापनइतर समूहमा नेतृत्वका आकांक्षी धेरै भएपछि सहमति जुटाउन नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन् । संस्थापन पक्षका उपसभापति विमलेन्द्र निधिले संस्थापनइतर समूहका महामन्त्री डा. कोइराला र पूर्वमहामन्त्री सिंहबीच नेतृत्वका लागि छलफललाई निरन्तरता दिएपछि वरिष्ठ नेता पौडेल असन्तुष्ट छन् ।

आजको बैठकमा निधि, कोइराला र सिंहबीचको तीन चरणको लन्च मिटिङका बारेमा पनि छलफल भएको थियो । तीनैजना नेतृत्वका आकांक्षी हुन् । तीन नेताबीचको संवादप्रति असन्तुष्ट पौडेलले महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहसँग असन्तुष्टि जनाइएको बुझिएको छ । त्यस्तै उपसभापति निधिसँग पनि नेतृत्वका लागि नभई महाधिवेशन सफल बनाउन सक्रिय हुन पौडेलले सुझाव दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *