काठमाडौं। एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ। बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गर्नेछ।
आजको बैठकमा माधवकुमार नेपाल पक्षका ११ जना नेतालाई भने बोलाइएको छैन। पार्टीबाटै निलम्बन गरिएकाले उनीहरूलाई नबोलाइएको हो । पार्टीभित्र असन्तुष्ट नेताको माग सम्बोधन गर्न पार्टीका संरचनालाई २ जेठ २०७५ को अवस्थामा फर्काउन अध्यक्ष केपी ओली तयार भएका छन्। तर, माधव नेपाललाई नबोलाइएको सो बैठकमा उनलाई साथ दिँदै आएका अन्य नेता जाने नजाने टुंगो छैन ।
पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको स्थायी कमिटीले बुधबार हुने आयोजक कमिटीको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी कमिटीको बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था जटिल र संकटपूर्ण भएको निष्कर्षसहित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते आव्हान गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यसअघि स्थायी कमिटीको यही असार १३ गतेको बैठकले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धा, पार्टीको महाधिवेशन आयोजक कमिटीमाथि उठाइएका विवादलगायत विषयमा छलफल गर्न आज बिहान ११ महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने तय गरिएको थियो ।




