काठमाडौं । नेकपा माओवादी केन्द्रले कारबाही गरेका जनप्रतिनिधिलाई काम गर्न दिन सर्वोच्च अदालतले आन्तरिम आदेश दिएको छ । माओवादी केन्द्रबाट निर्वाचित भएर दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो ।
निर्वाचन आयोगले असार ९ गते माओवादी केन्द्रले कारबाही गरेका १४ जनाले दल त्याग गरेको सूचना जारी गरेको थियो । उक्त सूचनामा पद खाली भएको उल्लेख थियो । निर्वाचन आयोगले गोरखापत्रमा सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको थियो । उनीहरु माओवादी छाडेर नेकपा एमाले प्रवेश गरेका थिए ।
पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना थिए ।




