काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाललगायत ११ जनालाई बोलाइएको छैन । बैठक भोलि बुधबार बिहान ११ बजे बस्दैछ ।
वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्कालगायत ११ जनालाई बैठकबारे खबर गरिएको छैन । ती ११ जनालाई अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा पार्टीबाट निष्कासन गरेका थिए ।
कार्यालय सचिव शेरबहादुर तामाङले असार १६ गतेका लागि प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्यलाई पनि बोलाइएको जानकारी दिए ।
सर्वोच्च अदालतले समेत महाधिवेशन आयोजक कमिटीलाई वैधानिक निकाय मान्न नसकिने भन्दै उसले गरेका निर्णय उल्टाइदिएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्ष तत्कालीन केन्द्रीय कमिटी नै ब्यूँताउन तयार भएको बताइएको छ ।




