देश

ओलीले एमालेको पुराना सांगठनिक संरचना ब्युँताए माधव नेपाल के गर्लान् ?

काठमाडौं । सत्तारुढ एमालेमा विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने छलफल सुरु भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले यसबारे कुनै प्रतिक्रिया नजनाए पनि उनीबाहेकका सबै नेता पुराना सांगठनिक संरचना ब्यूँताएर अघि बढ्नुपर्नेमा सहमत छन् ।

केपी ओली र माधव नेपाल समूहबीच तीन महिनासम्म चलेको रस्साकस्सीपछि २०७५ जेठ २ गतेअघिका सबै कमिटी ब्युँताएर अघि बढ्ने तयारी भएको हो।

नेपाल समूहले पार्टीका सबै संरचना २०७५ जेठ २ गतेअघिको अवस्थामा फर्काउनुपर्ने अडान राख्दै आएको छ । ओलीले त्यसलाई बेवास्ता गरेपछि नेपाल समूहले समानान्तर कमिटी बनाएर चुनौती दिएको थियो।

नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेपछि ओली सबै कमिटी पुरानै अवस्थामा पुर्‍याउने मनस्थितिमा पुगेका हुन् ।

स्रोतका अनुसार गत फागुन २८ गतेपछि दुवैतर्फबाट गरिएका सबै निर्णय बदर हुनेगरी सहमति भइसकेको छ । असार १६ गते यी सबै निर्णय बदर भएको घोषणा गर्दै पदाधिकारी र स्थायी कमिटी बैठक बोलाइने स्रोतले बतायो।

ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र नेपाल पक्षबाट घनश्याम भुसाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, भीम आचार्यले निरन्तर संवाद गरिरहेका थिए। उनीहरूले बुधबारदेखि नै विवाद निरुपणका लागि मस्यौदा बनाएर छलफल गरेका थिए। मस्यौदामाथि दुवै पक्षका नेताले शुक्रबारसम्म छलफल गरी सोही दिन राति ओली र नेपाललाई बुझाएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *